काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ४० जिल्लामा एकलौटी जित हासिल गरेको छ। २०७९ सालमा स्थापना भएको पार्टीले चार वर्षको छोटो अवधिमा यो असाधारण सफलता प्राप्त गरेको हो।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले अहिलेसम्म प्रत्यक्षतर्फ १२४ स्थानमा जीत हासिल गरिसकेको छ। साथै समानुपातिकतर्फ ३९ लाख ४ हजार ७४८ मत ल्याइसकेको छ। अघिल्लो निर्वाचनमा उसले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट जितेको थियो र समानुपातिकतर्फ ११ लाख २४ हजार ५५७ मत ल्याएको थियो।
यसपटक रास्वपाले कोशी, मधेस, पश्चिम तराई र सुदूरपश्चिमका ठूला मताधार भएको शहर तथा ग्रामीण क्षेत्रहरूमा एकलौटी जित हात पारेको छ। झापा जिल्लामा पाँचवटै निर्वाचन क्षेत्र रास्वपाले जित्यो। झापा–१ बाट निशा डाँगी, झापा–२ बाट इन्दिरा रानामगर, झापा–३ बाट प्रकाश पाठक, झापा–४ बाट शम्भु ढकाल (सुस्केरा), झापा–५ बाट बालेन शाह निर्वाचित भए। मोरङका छवटा क्षेत्रबाट पनि रास्वपाका उम्मेदवार विजयी भए।
मधेस प्रदेशमा रास्वपाको प्रदर्शन विशेष उल्लेखनीय छ। ३२ मध्ये ३० सिटमा एकलौटी जीत हात परेको छ। धनुषा र रौतहट बाहेकका सबै जिल्लामा क्लिनस्वीप भएको छ। सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, बारा र पर्साका प्रमुख क्षेत्रहरूमा रास्वपाले ठूलो मतान्तरले जीत हासिल गरेको छ।
बागमती प्रदेशमा सिन्धुली, दोलखा, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर र चितवनमा रास्वपाले विजयी झण्डा फहराएको छ। काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रमा जीत हासिल गर्नु विशेष ऐतिहासिक भएको छ।
गण्डकी प्रदेशमा लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ र नवलपरासीका क्षेत्रहरूमा रास्वपाको क्लिनस्वीप देखियो।
लुम्बिनी प्रदेशमा गुल्मी, रूपन्देही, दाङ, बर्दिया र नवलपरासी बर्दघाट सुस्तापश्चिमका सबै क्षेत्र रास्वपाले जित्यो।
सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र बैतडीका सबै क्षेत्र रास्वपाका विजयी क्षेत्र बने। कांग्रेसका पूर्वपार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा पनि पहिलो पटक रास्वपाले जित हासिल गरेको छ।
रास्वपाको यो सफलताले नेपालको राजनीतिक परिदृश्यमा नयाँ शक्तिको उदय भएको देखाएको छ। चार वर्षमै छोटो समयमा देशभर फैलिएको पार्टीले अब संघीय संसदमा महत्वपूर्ण प्रभाव कायम गर्ने अवस्था सिर्जना भएको छ।