महावीर पुनलाई पोखरा मेयरको सुझाव:‘सडकमा होइन, व्यवसायी सञ्जालमार्फत पुस्तक बिक्री गरौँ’

0 Shares

पोखरा। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले आफ्नो अभियानका लागि सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ध्यानाकर्षण गराएका छन्। उनले पुनको अभियानप्रति सम्मान व्यक्त गर्दै पुस्तक बिक्रीलाई व्यवस्थित बनाउन वैकल्पिक उपाय अपनाउन आग्रह गरेका छन्।

मेयर आचार्यका अनुसार सार्वजनिक सडक वा चोकमा अनुमतिबिना वस्तु बिक्री गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन सक्ने र स्थानीय नियम–कानुनसँग पनि बाझिन सक्ने अवस्था देखिन्छ। त्यसैले पुस्तक व्यवसायीहरूको औपचारिक सञ्जालमार्फत पुस्तक बिक्री गर्न उपयुक्त हुने उनको सुझाव छ।

आचार्यले पुनको देश र समाजप्रतिको योगदान, नवप्रवर्तनका लागि गरेको संघर्ष र उनको सादगीपूर्ण जीवनशैलीको प्रशंसा पनि गरेका छन्। तर, सम्मानित व्यक्तित्व सार्वजनिक सडकमा उभिएर पुस्तक बेच्दा अनावश्यक विवाद र प्रश्नहरू उठ्न सक्ने भएकाले त्यसले उनको प्रतिष्ठालाई पनि असर गर्न सक्ने उनले उल्लेख गरेका छन्।

‘फुटपाथमा साना व्यवसाय गर्नेहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न आग्रह गर्दा त्यही नियम तपाईंमाथि पनि लागू हुन्छ। यसले अनावश्यक विवाद निम्त्याउन सक्छ,’ मेयर आचार्यले भनेका छन्।

उनले कुनै पनि वस्तुको बिक्री–वितरणका लागि सम्बन्धित निकायमा दर्ता तथा अनुमति आवश्यक हुने उल्लेख गर्दै कानुनी जटिलता आउन सक्ने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराएका छन्।

मेयर आचार्यले महावीर पुनलाई पोखरा आउन निमन्त्रणा दिँदै पुस्तक बिक्रीलाई व्यवस्थित बनाउन पुस्तक व्यवसायी महासंघको सञ्जाल प्रयोग गर्न सकिने प्रस्ताव राखेका छन्। उनका अनुसार देशभर करिब १८ हजार पुस्तक व्यवसायी रहेको नेटवर्कमार्फत पुनका पुस्तकहरू सहज रूपमा बिक्री गर्न सकिन्छ।

‘तपाईंको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो, हाम्रो भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो,’ मेयर आचार्यले भनेका छन्। ‘यदि तपाईंले आफ्नो पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने महासंघमार्फत बिक्री व्यवस्थापन गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन हामी सहजीकरण गर्न सक्छौँ।’

सम्बन्धित समाचारसबै