धरान अटल ग्यारेजमा बस आगलागी: तीन नष्ट, तीनमा क्षति

0 Shares

विराटनगर। सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङमा राखिएका बसहरूमा मंगलबार राति आगलागी हुँदा तीन वटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन बसमा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार पार्किङमा राखिएका ६ वटा बसमध्ये को. १ ख ६२७४ नम्बरको ‘कृष्ण बस’, प्र. १–०१–००१ ख ४०३७ नम्बरको ‘कन्काइ यातायात’ र बा. ४ ख ५७५९ नम्बरको ‘पाथिभरा दर्शन’ बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

त्यसैगरी को. १ ख ३८४७ नम्बरको ‘सुपर मादेन’ बस, बा. ५ ख ५८१४ नम्बरको बस र बा. ५ ख ५८०९ नम्बरको बसमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागी राति करिब साढे ९ बजेतिर सुरु भएको थियो। प्रारम्भिक अनुसन्धानमा को. १ ख ६२७४ नम्बरको बसबाट आगो सुरु भएको देखिएको छ। उक्त बस राति करिब ९ बजेतिर ग्यारेजमा पार्किङ गरिएको थियो।

डीएसपी खड्काका अनुसार सीसीटिभी फुटेजको प्रारम्भिक अध्ययन गर्दा कसैले जानाजानी आगजनी गरेको जस्तो संकेत नदेखिएको र बसभित्रको विद्युत् तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

‘प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो देखिँदैन। बसभित्रको तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको छ,’ डीएसपी खड्काले भने, ‘सीसीटिभी फुटेजमा पनि कुनै शंकास्पद गतिविधि देखिएको छैन। थप अनुसन्धान भइरहेको छ।’

उनका अनुसार आगलागीको जानकारी प्रहरीलाई राति करिब १० बजेतिर मात्र प्राप्त भएको थियो।

प्रहरीले प्रारम्भिक रूपमा आगो सुरु भएको बसमा यसअघि पनि एक महिनाअघि विराटनगर–धरान रुटमा चलिरहेकै अवस्थामा आगलागी भएको तथ्य फेला परेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै