सुर्खेतमा बालिकाको बलात्कारपछि हत्या प्रकरण : दोषीमाथि कडा कारबाहीको माग

0 Shares

सुर्खेत । गत शनिबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद उद्यानभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।

सुर्खेतका विभिन्न संघसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका हुन्।

विज्ञप्तिमा वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएको उल्लेख गर्दै यसले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको जनाइएको छ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य हुन सक्दैन। सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक छ।” साथै यस्ता अपराध रोक्न प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी र सचेतनामूलक कार्यक्रमहरू थप सुदृढ गर्नुपर्नेमा पनि जोड दिइएको छ।

मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासंघ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा संघ, दलित महिला संघ, वाम, सोसेक तथा मानवअधिकारका लागि महिला एकल महिला समूह सुर्खेतलगायत संस्थाहरूले उक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन्।

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जालमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढंगले अनुसन्धान गरिने विश्वास दिलाएका छन्। उनले प्रदेश सरकारका तर्फबाट घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढाइने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई मंगलबार पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ परेकामाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्म मृतकका परिवारजनले शव बुझेका छैनन्। थप अनुसन्धानका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शवपरीक्षण गरेको थियो। प्राप्त प्रतिवेदनअनुसार जबर्जस्ती करणीका क्रममा मृतकको संवेदनशील अंगमा गम्भीर चोट लागेको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत थिइन्। परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।

तर बिहान करिब ९ बजेतिर स्थानीयले जनजागरण सामुदायिक वन क्षेत्रमा उनलाई अचेत अवस्थामा फेला पारेका थिए। उनलाई प्रहरीले तत्काल प्रदेश अस्पताल सुर्खेत कालागाउँ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

 

 

सम्बन्धित समाचारसबै