विराटनगर। खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा बुधबार एयर डाइनेष्टिको हेलिकोप्टर अवतरणको क्रममा दुर्घटना भएको छ। बिरामी लिन र शव बोकेर फर्किने क्रममा भएको यस दुर्घटनामा मानवीय क्षति नगरी सामान्य घाइते मात्र भएका छन्।
प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार हेलिकोप्टरमा सवार सबै यात्रु सुरक्षित रहेका छन्। खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीले घाइतेको नाम काजीबहादुर राई रहेको र उनको खुट्टामा चोट लागेको तर अवस्था सामान्य रहेको जानकारी दिएका छन्। हेलिकोप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार, हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा असन्तुलित भई दुर्घटना भएको हो। गाउँपालिका अध्यक्ष समीर राईले हेलिकोप्टर सुरुमा डिलमा अवतरण गर्न खोज्दा पुनः बारीको बीचतिर लैजान खोज्दा दुर्घटना भएको बताए। वडाध्यक्ष मिलन राईले घटनामा एकजना घाइते भएको पुष्टि गर्दै घटनास्थलतर्फ लागेको जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार, हेलिकोप्टरबाट शव निकालेर फर्किने क्रममा सामान्य दुर्घटना भएको हो। दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ। दुर्गम क्षेत्रमा अवतरणको चुनौतीबीच ठूलो दुर्घटना टरेको छ।