सप्तरी । जिल्लामा एक बालिकाको अपहरण प्रकरणमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरी कारागार पठाएको छ।
प्रहरीका अनुसार इम्तियाज अहमदले मोटरसाइकलमा राखेर बालिकाको अपहरण गरेका थिए। घटनापछि इलाका प्रहरी कार्यालय कल्याणपुर र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त टोलीले बालिकाको खोजतलास तीव्र बनाएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले प्राविधिक तथा म्यानुअल दुवै माध्यम प्रयोग गर्दै खोजी कार्य अघि बढाइरहेको अवस्थामा फागुन ७ गते बिहान करिब ११ बजे अपहरणकारीले बालिकाका बुवालाई फोन गरी एक करोड रुपैयाँ नगद र पाँच किलो सुन फिरौती माग गरेको थियो। यसबारे जानकारी दिँदै प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले घटनाको पुष्टि गर्नुभयो।
फिरौती बुझाउन रूपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बोलाइएपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले सोही दिन साँझ अभियुक्त अहमदलाई नियन्त्रणमा लिन सफल भएको थियो।
पक्राउ परेका अहमदविरुद्ध थप अनुसन्धान जारी राख्दै अपहरण, शरीर बन्धक तथा मानव ओसारपसारसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
सप्तरी जिल्ला अदालतले मङ्गलबार दिएको आदेशअनुसार अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय सप्तरी पठाइएको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो।