मोरङ सुन्दरहरैँचामा टिपर र स्कुटर ठोक्किँदा युवकको मृत्यु

0 Shares

विराटनगर। मोरङको सुन्दरहरैँचामा बिहीबार बिहान टिपर र स्कुटर ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीमा बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ ख ००३८ नम्बरको टिपर र पूर्वतर्फ जाँदै गरेको को २५ प ३४८४ नम्बरको स्कुटर ठोक्किँदा सुन्दरहरैँचा–४ का २० वर्षीय अमृत अधिकारीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

स्कुटरमा पछाडि सवार रहेका अधिकारी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारका लागि बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा स्कुटर चालक, सुन्दरहरैँचा–५ का १८ वर्षीय अनुप चापागाईं पनि गम्भीर घाइते भएका छन्। उनको उपचार अहिले विराट शिक्षण अस्पतालमै भइरहेको छ।

बालुवा लोड गरिएको टिपर र चालक सप्तरीको तिरहुत गाउँपालिका–२ का ५७ वर्षीय शिवनारायण खंगलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका वरिष्ठ सई डम्बर थापा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचारसबै