कोशी प्रदेशको नयाँ विकास रोडम्याप सार्वजनिक

0 Shares

विराटनगर । कोशी प्रदेश सरकारले विकास प्रक्रियालाई थप वैज्ञानिक, पारदर्शी र नतिजामुखी बनाउन नीतिगत तथा संरचनागत सुधारका महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश योजना आयोगले आगामी २० वर्षे दीर्घकालीन सोच (रोडम्याप) र दोस्रो आवधिक योजनाका रणनीतिक कार्यदिशा सार्वजनिक गरेको हो।

प्रदेश सरकारलाई तथ्यमा आधारित नीति निर्माणतर्फ उन्मुख गराउन त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालयसँग सहकार्य गरेको छ। विराटनगरको डिग्री क्याम्पस र धरानस्थित केन्द्रीय प्रविधि क्याम्पससँगको सहकार्यमा अनुसन्धान, नवप्रवर्तन र स्थानीय उत्पादनको ब्रान्डिङमा जोड दिइने बताएको छ।

योजना छनौटमा दोहोरोपन र स्रोत दुरुपयोग रोक्न सरकारले “आयोजना बैंक” अवधारणा कार्यान्वयनमा ल्याएको छ। अब योजना वैज्ञानिक आधारमा छनोट गरिनेछ। साथै, ‘बजेट मोबिलाइजेसन ट्र्याकिङ सिस्टम’मार्फत बजेट खर्च र भौतिक प्रगतिलाई डिजिटल रूपमा निगरानी गरिनेछ। पहाडी तथा हिमाली क्षेत्रबाट तराईतर्फ बढ्दो बसाइँसराइलाई नियन्त्रण गर्न विशेष अध्ययन सुरु गरिने भएको छ। साथै, पहाडी क्षेत्रमा पुनः आकर्षण बढाउन स्रोतसहितका कार्यक्रम ल्याइने योजना आयोगले जनाएको छ।

आगामी रणनीतिमा कृषि, पर्यटन, डिजिटल सुशासन, औद्योगिक विकास, वातावरण संरक्षण र योजनाको प्रभाव मूल्याङ्कनलाई प्राथमिकता दिइएको छ। कृषि आधुनिकीकरणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने तथा साना–मझौला उद्योग प्रवर्द्धनमार्फत रोजगारी सिर्जनामा जोड दिइने बताएको छ।

प्रदेश योजना आयोगले अब हचुवाका आधारमा होइन, तथ्याङ्क र अनुसन्धानमा आधारित विकास मोडेल अवलम्बन गर्ने स्पष्ट पारेको छ। सीमित स्रोतका बाबजुद संघीय संरचनाअनुसार प्रभावकारी समन्वय गर्दै ‘समुन्नत कोशी प्रदेश’ निर्माणमा यी कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित समाचारसबै