हामी बिचौलिया होइनौँ : लेखापढी व्यवसायीको सरकारसँग आपत्ति

0 Shares

विराटनगर । नेपालका लेखापढी कानुन व्यवसायीहरू मोरङसहित देशभर आन्दोलित भएका छन्। देशभरिका १ सय ३५ मालपोत तथा नापी कार्यालयमा भूसेवा केन्द्रमार्फत लेखापढी सेवा प्रदान गर्दै आएका ३० हजारभन्दा बढी व्यवसायी आफ्नो रोजीरोटी खोसिन लागेको भन्दै विरोधमा उत्रिएका हुन्।

सरकारले मालपोत, नापी लगायतका सरकारी कार्यालयलाई बिचौलियामुक्त बनाउने अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत प्रहरीले मालपोत तथा नापी कार्यालयबाट लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ। सरकारको नजरमा यी व्यवसायीहरूले बिचौलियाको भूमिका निभाइरहेको आरोप छ।

तर, व्यवसायीहरूले आफूहरू बिचौलिया नभएको र कानुनअनुसार काम गर्दै आएको दाबी गर्दै विरोध सुरु गरेका छन्। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, विराटनगर इकाईका अध्यक्ष कञ्चन न्यौपानेले भने, “हामी बिचौलिया होइनौँ। हामी जिल्ला अदालतबाट नियमित लाइसेन्स लिएर काम गर्छौं। सरकारले तत्कालै धरपकड बन्द गरी कानुनअनुसार काम गर्न दिनुपर्छ। कोही सेवाग्राहीलाई ठगी वा अन्य अनुचित कार्य गर्छ भने त्यसको कारबाही हुनु पर्छ, तर पुरै संस्थालाई दोष दिनु उचित होइन।”

उनले थपे, “हामी पोसाक र परिचयपत्रसहित कानुनअनुसार काम गर्छौं। जबरजस्ती ‘बिचौलिया’ भनेर पक्राउ गर्नु अपमानजनक छ। हाम्रो माग छ कि प्रहरीको धरपकड तत्काल बन्द होस् र हामीलाई सम्मानका साथ काम गर्न दिइयोस्।”

व्यवसायीहरूले सरकारसँग तत्काल संवाद र वार्ताको माग गरेका छन्। उनीहरूले समस्याहरूलाई छलफल गरी समाधानमा पुग्न सरकारको ध्यानाकर्षण गराएका छन्।

यो आन्दोलनले सेवाग्राहीहरूमा असुविधा पैदा गरेको छ, तर व्यवसायीहरूले आफ्नो रोजीरोटीको सुरक्षा र प्रतिष्ठा बचाउन जारी राख्ने योजना बनाएका छन्।

सम्बन्धित समाचारसबै