काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीको वडा तहको अधिवेशन प्रक्रिया अझै पूर्ण रूपमा सकिएको छैन।
७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भए पनि रसुवा, नुवाकोट र धादिङसहित विभिन्न जिल्लाका केही क्षेत्रमा अधिवेशन हुन बाँकी छ।
भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा अधिवेशन हुन नसकेको हो। त्यसबाहेक सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ र परासी क्षेत्र नम्बर २ लगायतका क्षेत्रमा पनि प्रक्रिया पूरा भएको छैन।
केन्द्रीय निर्वाचन समितिले बाँकी वडामा असोज ५ गतेदेखि अधिवेशन सञ्चालन गर्ने जनाएको छ।
वडा अधिवेशनसँगै क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया पनि अघि बढ्ने भएकाले बाँकी रहेका क्षेत्रमा अधिवेशन सम्पन्न गर्नु कांग्रेसका लागि महाधिवेशनअघि पूरा गर्नुपर्ने महत्वपूर्ण काम बनेको छ।
कांग्रेसको १५औँ महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुँदैछ।