काठमाडौं । अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले नेपालमा भएको जेन–जी आन्दोलनबारे प्रकाशित गरेको रिपोर्ट सामाजिक सञ्जालमा शेयर गरेको आरोपमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।
मोरङमा राजनीतिक विमर्शसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका दाहाललाई आइतबार बिहान सुन्दरहरैचा–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार दाहाललाई पक्राउ गर्न एक सातादेखि प्रधानमन्त्रीको सचिवालयबाट दबाब आएको थियो । शक्तिकेन्द्रको दबाबपछि साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ । अदालतबाट शुक्रबार नै पक्राउ अनुमति आएको ब्यूरो स्रोतको दाबी छ ।
दाहाललाई आइतबार दिउँसो २ः३० बजे बुद्ध एयरको विराटनगर–काठमाडौं उडानमार्फत काठमाडौं पठाउने तयारी गरिएको थियो । उनी कार्यक्रम सकेर आफैं काठमाडौं फर्किने तयारीमा रहेका बेला प्रहरीले चिया पसलबाटै पक्राउ गरेको हो ।
दाहालले गत सेप्टेम्बर १२ अर्थात् भदौ २७ गते ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षकमा ‘ग्रे जोन’ को रिपोर्ट सामाजिक सञ्जालमा शेयर गरेका थिए । उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक नेतृत्व, अभियन्ता तथा सार्वजनिक व्यक्तित्वसँग अमेरिकी सहयोगमा सञ्चालित विभिन्न संस्था तथा परियोजनाको सम्बन्ध रहेको दाबी गरिएको थियो ।
रिपोर्टमा सार्वजनिक गरिएका केही कागजात तथा विवरणमा नेपालका चर्चित तथा नयाँ राजनीतिक व्यक्तिहरू र आन्दोलनका अगुवाको नाम नागरिक नेतृत्व तथा क्षमता विकाससम्बन्धी कार्यक्रमसँग जोडिएको उल्लेख गरिएको थियो ।
दाहालले उक्त सामग्री शेयर गर्नुअघि पनि सरकारका गतिविधिमाथि सामाजिक सञ्जालमार्फत निरन्तर टिप्पणी गर्दै आएका थिए ।
यता, साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीले भने दाहाललाई सामाजिक सञ्जालमा भ्रम एवं अतिरञ्जनापूर्ण सामग्री प्रस्तुत गरेको आरोपमा पक्राउ गरिएको बताएका छन् ।
गरेकी छन्।