विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।
मोरङ प्रहरीका अनुसार दाहाललाई आइतबार बिहान बेलबारीबाट पक्राउ गरिएको हो । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालले दाहालविरुद्ध मोरङमा कुनै उजुरी नरहेको बताए ।
उनलाई साइबर ब्युरोमा परेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ । साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट दाहाललाई पक्राउ गर्न अनुमति लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दाहाललाई आइतबार नै काठमाडौं पठाउने तयारी छ ।
दाहाल पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारका विषयमा सार्वजनिक रूपमा आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए । यद्यपि, उनको पक्राउको कारण त्यही अभिव्यक्ति हो वा साइबर ब्युरोमा परेको उजुरीमा उल्लेखित अन्य विषय, प्रहरीले स्पष्ट पारेको छैन ।
दाहाल बेलबारीमा एउटा कार्यक्रममा सहभागी हुन पुगेका थिए । तर, उक्त कार्यक्रमबारे प्रहरीलाई पूर्वजानकारी नभएको मोरङ प्रहरीले जनाएको छ ।