विराटनगर । कोशी प्रदेशमा डेंगु संक्रमण १३ जिल्लासम्म फैलिएको छ। सेप्टेम्बर १९ सम्म प्रदेशभर ७९३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमितको संख्या हेर्दा तराईका झापा र सुनसरी अगाडि छन्। झापामा २२८ र सुनसरीमा २०३ जना संक्रमित भेटिएका छन्। पहाडी जिल्लामा पनि संक्रमण उल्लेख्य देखिएको छ। ओखलढुंगामा १२२ र खोटाङमा ८२ जनामा डेंगु पुष्टि भएको छ।
यस्तै पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, संखुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बु र तेह्रथुममा ३–३ तथा ताप्लेजुङमा १ जनामा संक्रमण देखिएको छ।
संक्रमण पुष्टि भएका बाहेक ५१ जना सम्भावित र २ जना शंकास्पद बिरामी पनि अस्पतालमा उपचाररत रहेको जनाइएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार डेंगु फैलाउने लामखुट्टेले जमेको सफा पानीमा समेत प्रजनन गर्ने भएकाले घर, कार्यालय र आसपास पानी जम्ने ठाउँ हटाउनु मुख्य रोकथामको उपाय हो। संक्रमण बढ्दै गएसँगै लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने र जनचेतना अभियानलाई तीव्र बनाउन निर्देशनालयले आग्रह गरेको छ।