गणतन्त्र स्थापना भएपछि पहिलो पटक पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा दरबार पुगेर गोरखनाथ र गोरखकालीको पूजा गर्नुको प्रतीकात्मक र राजनीतिक अर्थ रहेको उनका समर्थकहरूले बताएका छन्।
करिब दुई साताअघि पोखराबाट फर्कने क्रममा राजधानीमा ठूलो सङ्ख्यामा मानिसहरूबाट स्वागत पाएका पूर्वराजा त्यसयता पहिलो पटक राजधानीबाहिरको कार्यक्रममा शुक्रवार गोरखाका लागि निस्किएका हुन्।
यो भ्रमणअन्तर्गत उनी गोरखा दरबार पुग्ने र उनले गोरखनाथ, गोरखकाली र मनकामनाको दर्शन गर्ने पूर्वराजाका संवाद सचिव फणिराज पाठकले एउटा सूचनामार्फत् जनाएका छन्।नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्ष पुग्न लागेको छ र पछिल्ला वर्षमा देखिएको राजनीतिक अस्थिरताका माझ राजसंस्था पक्षधर शक्तिहरूले राजासहितको लोकतान्त्रिक व्यवस्था बहाल हुनुपर्ने माग गर्दै आन्दोलन अघि बढाउने घोषणा गरेका छन्।
दुई पटक राजा हुने अवसर पाएका ज्ञानेन्द्र शाहको अहिले हुन लागेको धार्मिक भ्रमणलाई राजसंस्था पुनर्स्थापनाका लागि उनका समर्थकहरूले अघि बढाएको अभियानसँग जोडेर धेरैले हेरिरहेका छन्।
पूर्वराजाको पूजाअर्चनाको व्यवस्थापनको लागि गोरखा दरबार पुगेका संस्कृतिविद् जगमान गुरुङले गोरखा दरबार शाहवंशका राजाहरूको आफ्नो घर भएको भन्दै त्यहाँ पूर्वराजपरिवारका नाममा नित्यपूजा हुने गरेको बताए।
तर राजपरिवारका सदस्यहरू स्वयं उपस्थित भएर यस पटक गर्न लागेको पूजाको विशेष अर्थ रहेको उनको भनाइ छ।
उनी भन्छन्, “राजपरिवारका सदस्यहरूले यहाँ आएर आफ्ना कुलगुरु गोरखनाथ र कुलदेवी गोरखकालीको दर्शन गर्नु नियमित प्रक्रिया हो। सशरीर नआए पनि उहाँहरूका नाममा यहाँ नित्यपूजा हुन्छ। तर कृष्णपक्षको चतुर्दशी वा अष्टमीमा कालीको पूजा गर्दा सफल होइन्छ भनेर शास्त्रले भन्छ। यस पटक चैत कृष्ण अष्टमी पनि शनिवार र शुक्ल अष्टमी वा चैते दशैँ पनि शनिवार भएकाले यो बेला आफ्नो दरबारभित्र छिरेर आफ्नो कुलदेवी गोरखकालीको पूजा गर्दा शक्ति प्राप्त हुन्छ।”

शुक्रवार अपरान्ह काठमाण्डूबाट सडकमार्ग हुँदै बाहिरिएका पूर्वराजा ज्ञानेन्द्रले कुरिनटारमा रात बिताएका थिए।
स्थानीय स्वागत समितिका अनुसार शनिवार बिहान ९ बजे पूर्वराजा गोरखा दरबारपछाडिको बसपार्क पुग्ने कार्यक्रम छ।
“बसपार्कमा स्वागत गर्न ५०१ सदस्यीय समिति बनेको छ, त्यसले स्वागत गर्ने अनि हनुमान भन्ज्याङबाट माथि सवारी चलाउने भन्ने कुरा छ। दरबारको ढोकासम्म म पुर्याउँछु। ढोकाभित्र उहाँको गोप्य पूजा हुन्छ।”
उनले दुई घण्टा गोरखनाथ र कालिका भगवतीको पूजा गर्ने र वज्र भैरवमा पनि पूजा सामग्रीहरू पठाउने भनिएको छ। त्यसपछि फूल, प्रसाद र सगुन ग्रहण गरेर पूर्वराजा शाह कुरिनटार फर्कने गुरुङले बताए।
आइतबार उनले मनकामना मन्दिरमा पूजाअर्चना गर्ने भनिएको छ।
गोरखकाली मन्दिरका पुजारी शारदा भट्टराईका अनुसार पूजाको तयारी भइरहेको छ।
उनले भने, “२०६२/२०६३ सालको आन्दोलनपछि उहाँहरूको पूजा सामग्री मात्र आउँथ्यो। बेलाबेलामा राजपरिवारका अन्य सदस्यहरू आउनुहुन्थ्यो। यसपटक चाहिँ स्वयं राजा आउन लाग्नुभएको छ।”
गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पूर्वराजाले गोरखामा गर्न लागेको भ्रमण अनौपचारिक भएको भन्दै सरकारी संयन्त्रहरूले नियमित रूपले काम गरिरहेको प्रतिक्रिया दिए।
उनले भने, “हामीले सबै परिस्थितिहरूको आकलन गरेर बसिरहेका हुन्छौँ। सुरक्षा संयन्त्रले नियमित ढङ्गले नै काम गरिरहेको छ।