मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि वन मन्त्रालयको सुझाव संकलन

0 Shares

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।

त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले बुधबार सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ ।

साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिनेछ ।

वनमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समय हात्तीका कारण मानवीय, कृषि पशु तथा बाली र घरगोठमा क्षति हुने क्रम बढेकाले समाधानका लागि सरोकारवालासँग साझा धारणा बनाई अघि बढ्ने बताए । ‘मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर तत्काल कार्यान्वयन गर्नेगरी अघि बढ्छौँ । साथै हात्तीबाट हुने क्षतिमा राहत दिने कार्यविधिलाई पनि अझ सहज र सरल बनाउँदैछौँ,’ उनले भने ।

सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट नेपालमा ३४५ जनाको मृत्यु भएको छ भने मानिसको आक्रमणबाट तथा करेन्ट लागेर ५५ हात्ती मरेका छन् । यसबाहेक हरेक वर्ष हात्तीबाट हुने कृषि पशु तथा बाली र घरगोठको क्षतिको परिणाम ठूलो छ । वन राज्यमन्त्री रुपा विकले हात्तीको क्षतिबाट गरिब समुदाय बढी प्रभावित हुने गरेको उल्लेख गर्दै मानव–हात्ती द्वन्द्व न्यूनीकरणको विषय अब वन मन्त्रालयको मात्र नभई अन्य मन्त्रालय र सबै तहका सरकारको चासोको विषय बन्नुपर्ने उल्लेख गरे ।

मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलले पछिल्लो समय मानव–हात्ती द्वन्द्व भयावह बन्दै गएको उल्लेख गर्दै समाधानका लागि शिक्षा र चेतनाका साथै स्थानीय जनताले वैकल्पिक खेतीका बारेमा समेत सोच्नुपर्नेमा जोड दिए । उनले प्रभावित मानिसमा बदलाको भावना कम गर्न राहतसम्बन्धी निर्देशिकालाई सरल बनाइने जानकारी दिए ।

पछिल्लो तथ्यांकनुसार हाल नेपालमा २३० जंगली हात्ती र सरकारी तथा निजी रुपमा पालिएका १८० हात्ती रहेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ नेपालका राष्ट्रिय प्रतिनिधि डा नरेन्द्रमानबाबु प्रधानले सचेतनामार्फत स्थानीयको व्यवहार प्रतिवर्तन गर्न सके मात्र पनि हात्तीका कारण हुने मानवीय क्षति ७० प्रतिशतसम्म कम गर्न सकिने बतए । ‘मनिसको व्यवहार परिवर्तन गर्न सकिन्छ तर हात्तीको व्यवहार परिवर्तन गर्न सकिँदैन,’ उनले भने ।

विश्व वन्य जन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले भारतीय सीमाबाट आउने हात्तीका कारण पनि क्षति हुने गरेको उल्लेख गर्दै यस सम्बन्धमा भारतसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिए । ‘मानव–हात्ती द्वन्द्व समाधानको विषयलाई दिगो र प्रभावकारी बनाउन वन मन्त्रालयको मात्र नभई राजनीतिक एजेन्डा बनाउनुपर्छ,’ उनले भने ।

सम्बन्धित समाचारसबै