मकालु एभरेष्ट अस्पतालको मानवतापूर्ण पहल : भक्तजनलाई निःशुल्क स्वास्थ्य सेवा

0 Shares

विराटनगर । ऐतिहासिक रथयात्राको दिन विराटनगरको भीडले सजिएको मेन रोडमा भक्तजनको सुरक्षित सहभागिता सुनिश्चित गर्न मकालु एभरेष्ट अस्पतालले अनौठो तर महत्वपूर्ण योगदान पुर्‍याएको छ। लाखौँ श्रद्धालुहरू भक्तिभावसहित रथयात्रामा सहभागी भइरहेका बेला, अस्पतालले हनुमान मन्दिर अगाडि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी समाजसेवाको उदाहरण प्रस्तुत गर्‍यो।

साना बालबालिकादेखि लिएर वृद्धवृद्धासम्म सहभागी भएको यस यात्रामा कुनै आकस्मिक स्वास्थ्य समस्या वा दुर्घटनाको सम्भावना विचार गरी शिविरमा डाक्टरहरूको विशेष टोली खटाइएको थियो। अस्पतालका सम्पूर्ण चिकित्सकहरू स्वयं शिविरमै उपस्थित भएर भक्तजनलाई स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र आवश्यक परे तुरुन्तै सहयोग उपलब्ध गराइरहेका थिए।

यात्रामा उपस्थित भएका अनेकौं भक्तजनले यस सेवाबाट लाभ उठाए। अस्पतालले निःशुल्क औषधि वितरण गर्दै यात्राको भीडमा पनि ‘मानवता पहिलो’ भन्ने सन्देश फैलायो।

यस सामाजिक तथा मानवतामूलक कदमले रथयात्राको धार्मिक माहोललाई मात्र होइन, समाजमा स्वास्थ्य सचेतना फैलाउने अवसरलाई पनि सुदृढ बनाएको छ।

सम्बन्धित समाचारसबै