विराटनगरमा हजरत मोहम्मद (स.) जन्मजयन्तीमा सार्वजनिक विदा

0 Shares

विराटनगर, भदौ १९ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद (स.) को जन्मजयन्ती (मोहम्मद डे) को अवसरमा विराटनगर महानगरपालिकाले भोलि शुक्रबार (भदौ २०) सार्वजनिक विदा दिने निर्णय गरेको छ।

यसअघि मुस्लिम समुदायले विदाका लागि माग गर्दै नेकपा एमाले सम्बद्ध नेपाल मुस्लिम इत्तेहाद संगठन विराटनगर कमिटीमार्फत महानगरकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई ज्ञापनपत्र बुझाएका थिए। उक्त कार्यक्रममा नेकपा एमाले विराटनगर महानगर कमिटीका उप–सचिव हमिद आजाद, महानगर सदस्यहरू तथा मुस्लिम इत्तेहाद संगठनका नेताहरूको उपस्थिति थियो।

ज्ञापनपत्रपछि महानगरले मुस्लिम समुदायले उल्लासपूर्वक मनाउने यस पर्वलाई धार्मिक र सांस्कृतिक एकताको सम्मानस्वरूप सार्वजनिक विदा दिने निर्णय गरेको हो।

महानगर प्रमुखका निमित्त प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय तथा विद्यालयमा भदौ २० गते सार्वजनिक विदा हुने उल्लेख गरिएको छ।

यसअघि पनि विराटनगरमा दशैं, तिहार, होली, छठलगायत विभिन्न धार्मिक पर्वमा सार्वजनिक विदा दिँदै आएकोमा यसपटक मोहम्मद डेमा समेत सार्वजनिक विदा दिने निर्णय गरिएको हो।

सम्बन्धित समाचारसबै