मोरङ कारागारमा १४३ जना कैदीबन्दीहरूले रक्तदान गरेका छन्। गिरी फाउन्डेशन मोरङको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको सहयोगमा आज कारागार परिसरमै रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा कारागारमा विभिन्न कसुरमा रहेका कैदीबन्दीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै रक्तदान गरेका थिए। मोरङ जिल्लामा हाल रक्तको अभाव रहेको अवस्थामा यो अभियानले केही सहयोग पु-याउने विश्वास गिरी फाउन्डेशनका अध्यक्ष अभिषेक गिरीले व्यक्त गरे।
“कैदीबन्दीहरू समाजप्रतिको उत्तरदायित्व र मानवीय संवेदनाको प्रतीक हुन्। अरूको जीवन बचाउन सहयोग गरेका छन्,” अध्यक्ष गिरीले भने। त्यस्तै, नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुदेन्द्र मण्डलले कैदीबन्दीहरूलाई धन्यवाद दिँदै यो कार्य मानवताको उत्कृष्ट उदाहरण भएको टिप्पणी गरे।
रगतको अभावका कारण बिरामीहरूले कठिनाइ भोग्नुपरेको सन्दर्भमा यो रक्तदान अभियानले समाजमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
