सन् २०२५ डिसेम्बर १२ शुक्रबार मध्यान्हदेखि चीनको राजधानी बेइजिङमा लगातार १२ घण्टा हिमपात भयो। यो यामको पहिलो हिमपात भएकाले बेइजिङ सेतो चादरले ढाकियो भने चिनियाँ सामाजिक सञ्जाल हिउँसँग सम्बन्धित फोटो र भिडिओले भरियो।
फेसबुक प्रतिबन्धित भए पनि विच्याट, विइपो र क्युक्यू जस्ता चिनियाँ सामाजिक सञ्जालमा अनौठा र फरक दृश्य पोस्ट गर्ने चलन व्यापक छ। यही क्रममा शुक्रबार साँझ विच्याटमा एउटा फोटो अत्यन्तै चर्चित बन्यो।
हिउँ परिरहेको पार्कमा पातलो सेतो पहिरन लगाएर पलेँटी मारेर ध्यान मुद्रामा बसेका एक व्यक्ति सबैको ध्यानको केन्द्र बने। लामो कपाल जुरोमा बाँधिएको, झन्डै ६ इन्च लामो दाह्री र कपाल–दाह्रीमै टाँसिएको हिउँले ती व्यक्ति कुनै फिल्मको दृश्य वा आदिम युगका सन्तजस्ता देखिन्थे। बाक्ला कपडा लगाएर हिँडिरहेका बेइजिङबासीका बीच पातलो पहिरनमै ध्यान गरिरहेका उनलाई कतिपय चिनियाँले अनौठो र हठी भन्दै टिप्पणीसमेत गरे।
तर हिउँमा ध्यान गरिरहेका ती व्यक्ति कुनै विदेशी साधु नभई नेपाली युवा योग प्रशिक्षक ‘गुरु अमर’ अर्थात् रमेश सिटौला हुन्। उनी यतिबेला बेइजिङमा चर्चित बनेका छन्।
एक साताअघि मात्रै उनले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको ‘ध्यान अभ्यासमार्फत शरीर र आत्माको मिलन’ विषयक कार्यक्रममा करिब दुई घण्टा प्रस्तुति दिएका थिए। दूतावासको सभाकक्षमा उपस्थित ७० जना चिनियाँलाई उनले धाराप्रवाह चिनियाँ भाषामै योग, ध्यान र अध्यात्मबारे प्रवचन दिएर अभ्यास गराएका थिए।
नुवाकोटदेखि बेइजिङसम्मको योग यात्रा
नुवाकोटमा जन्मिएका रमेश सिटौलाको न्वारानको नाम अमर सिटौला हो। प्रमाणपत्रमा रमेश नाम भए पनि योग प्रशिक्षक बनेपछि उनले ‘गुरु अमर’ नाम प्रयोग गर्दै आएका छन्। झट्ट हेर्दा तीस वर्ष जति देखिए पनि उनी तीन दशकदेखि योग अभ्यासमा सक्रिय छन्।
बाल्यकालदेखि नै असाधारण क्षमता देखिएका उनी भित्तामा चढ्न, दलिनमा झुन्डिन सक्ने गर्थे। बुबा गीता साधक भएकाले सानैदेखि भगवद् गीता पाठ र ध्यान साधनामा उनको रुचि बढ्दै गयो। यही अभ्यासले उनलाई योगको बाटोतर्फ डोर्यायो।
एसएलसीपछि त्रिचन्द्र कलेजबाट विज्ञान पढेका रमेशले कम्प्युटर इन्जिनियरिङमा स्नातक गरी केही समय सफ्टवेयर इन्जिनियरका रूपमा पनि काम गरे। पछि चिनियाँ भाषा अध्ययन गर्दै पर्यटक गाइड बनेका उनी चिनियाँ पर्यटकलाई योग र ध्यान सिकाउन थाले।
चिनियाँहरूलाई अध्यात्मको स्वाद
चिनियाँ भाषा र योग दुवैमा दख्खल भएकाले रमेश चिनियाँ माझ छिट्टै लोकप्रिय बने। नेपाल आएका चिनियाँ पर्यटकलाई उनले निःशुल्क योग–ध्यान सिकाउँथे। यही क्रममा भारतको हरिद्वार र नेपालका विभिन्न योग तथा विपश्यना शिविरमा प्रशिक्षण लिएर उनी अझ परिपक्व बने।
सात वर्षअघि उनले ‘गुरुकुल योगाश्रम’ स्थापना गरे। हालै त्रिभुवन विश्वविद्यालयबाट योग अभ्यासमा स्नातकोत्तर पूरा गरेका उनी त्रिविको पहिलो ब्याचका विद्यार्थीसमेत हुन्।
चीनमै बसेर योग–ध्यान प्रशिक्षण
सन् २०१२ देखि हालसम्म रमेश नौ पटक चीन पुगेर विभिन्न सहरमा योग–ध्यान प्रशिक्षण दिइसकेका छन्। गत सेप्टेम्बरदेखि भने उनी परिवारसहित बेइजिङमै बस्दै आएका छन्। अब चीनका विभिन्न सहरमा पुगेर चरणबद्ध योग–ध्यान कक्षा सञ्चालन गर्ने उनको योजना छ।
हिउँमा ध्यान गरेर चिसो नलागेको रहस्यबारे उनी भन्छन्,
“प्राण ऊर्जालाई सक्रिय बनाएर शरीरको तापक्रम नियन्त्रण गर्न सकिन्छ। हठ गरेर होइन, शरीरलाई बुझेर अभ्यास गरे चिसोले असर गर्दैन।”
बेइजिङको हिउँमा ध्यान गर्दै गुरु अमर यतिबेला चिनियाँ सामाजिक सञ्जालमा मात्र होइन, नेपाललाई अध्यात्मको भूमि रूपमा चिनाउने दूतका रूपमा पनि स्थापित हुँदै गएका छन्।