काठमाडौं । सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले समाजमा योग र ध्यानलाई व्यापक रूपमा फैलाउन सकिए भ्रष्टाचार हट्ने सम्भावना रहेको बताएका छन्।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुनले अहिलेको मुख्य आवश्यकता मनलाई शुद्ध बनाउनु भएको उल्लेख गरे। उनका अनुसार मन शुद्ध नभए लोभ, लालसा र घमण्ड पैदा हुन्छ, जसले अन्ततः भ्रष्टाचारलाई मलजल गर्छ।
“भ्रष्टाचार औषधि खुवाएर हट्ने विषय होइन,” उनले भने, “मन शुद्ध गर्ने माध्यम भनेको योग र ध्यान हो। यही कारण योग र ध्यानलाई समाजमा फैलाउन सकियो भने भ्रष्टाचार हट्ने ठूलो सम्भावना देख्छु।”
मन्त्री पुनले योग र ध्यानलाई टोल–टोल तथा गाउँ–गाउँसम्म पुर्याउन सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिए। उनले योग र ध्यान भ्रष्ट मनलाई शुद्ध बनाउने प्रभावकारी माध्यम भएको दाबी गरे।
यसैबीच, उनले विद्यालय तहबाटै योग र ध्यानलाई प्रवर्द्धन गर्न निर्देशन दिइसकेको जानकारी दिए। योग र ध्यान पढाउने विषय नभई अभ्यास गराउने विषय भएको भन्दै विद्यालयमा शुक्रबारको दिनलाई पठनपाठनभन्दा बाहिर अतिरिक्त क्रियाकलापका लागि प्रयोग गर्ने प्रस्ताव अघि बढाइएको उनले बताए।
“विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत योगलाई समावेश गर्न निर्देशन दिइसकेको छु,” मन्त्री पुनले भने, “योग र ध्यानले मनलाई शान्त र शुद्ध बनाउँछ, यही नै यसको सबैभन्दा ठूलो महत्व हो।”
मन्त्री पुनको भनाइले योग र ध्यानलाई व्यक्तिगत अभ्यास मात्र नभई सामाजिक रुपान्तरणको माध्यमका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको छ।