विराटनगरमा सञ्चालित दुई वटा क्यासिनोमा प्रहरीले आइतबार राति छापा हानी २० जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले राति करिब ११ बजेतिर छापा हानेको थियो । छापाका क्रममा रत्ना होटलमा सञ्चालित ‘गोल्डेन कोइन’ क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना र बिग होटलको ‘च्याम्पियन जोन’ क्यासिनोबाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन्।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, क्यासिनोमा नेपाली नागरिकको प्रवेश कानुनतः निषेध भए पनि नेपालीहरू निर्वाध रूपमा जुवाजन्य खेल खेलिरहेको सूचनाका आधारमा छापा मारिएको थियो ।
पक्राउ परेकाहरूमाथि हाल ‘स्क्रिनिङ’ प्रक्रिया भइरहेको र थप सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ। केही पक्राउ परेकाले आफूहरू क्यासिनोका कर्मचारी भएको दाबी गरेकाले परिचयपत्रको परीक्षण भइरहेको एसपी कटवालले बताए। स्क्रिनिङ प्रक्रिया पूरा भएपछि मात्रै कति जनाविरुद्ध मुद्दा दर्ता हुने भन्ने यकिन हुने उनको भनाइ छ।
प्रहरीले छापा हान्दा क्यासिनोभित्र नेपाली नागरिकहरू खुलेआम खेलिरहेको अवस्थामा फेला परेकाले व्यवस्थापकसहित भित्र रहेका सबै नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले स्पष्ट पारेको छ। पक्राउ परेका अन्य व्यक्तिहरूको नाम अनुसन्धान प्रभावित नहोस् भनेर हाल सार्वजनिक नगरिएको जनाइएको छ।
हाल विराटनगरमा दुई वटा क्यासिनो सञ्चालनमा छन्। कानुनले विदेशी नागरिकलाई मात्र क्यासिनो प्रवेशको अनुमति दिएको भए पनि दुवै क्यासिनोमा लामो समयदेखि नेपाली नागरिकहरू कानुनविपरीत प्रवेश गरी जुवा खेल्दै आएको तथ्य बाहिरिँदै आएको छ। स्रोतका अनुसार क्यासिनोका मुख्य ग्राहक नै नेपाली उद्योगी, व्यापारी तथा युवाहरू रहेका छन्।
क्यासिनो सञ्चालकले विदेशी नागरिक पुष्टि हुने ‘आईडी कार्ड’ अनिवार्य देखाउनुपर्ने नियमलाई बेवास्ता गर्दै आम्दानीको लोभमा नेपालीलाई निर्वाध प्रवेश गराउँदै आएको आरोप छ। यसले गर्दा लाखौँ रुपैयाँ क्यासिनोमा सकिने गरेको बताइन्छ।
नेपालीको खुला प्रवेशका कारण क्यासिनोभित्र विवाद, झगडा तथा खुकुरी हानाहानजस्ता आपराधिक घटनासमेत बढ्दै गएको प्रहरी स्रोतको भनाइ छ। यसबारे ‘हेलो सरकार’लगायत विभिन्न निकायमा यसअघि नै उजुरी परिसके पनि सम्बन्धित निकायले चासो नदिएको आरोप लाग्दै आएको छ।
राज्यका सरोकारवाला निकाय मौन रहँदा क्यासिनो सञ्चालकले कानुनविपरीत नेपालीलाई जुवा खेलाइरहेको भन्दै यस घटनाले फेरि एकपटक क्यासिनो व्यवस्थापन र नियमनप्रति गम्भीर प्रश्न उठाएको छ ।