महोत्तरी ।
महोत्तरीको गौशाला–१ रामनगरमा रहेको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले यस वर्षको उखु क्रसिङ सुरु गरेको छ। उद्योगले सोमबारदेखि उखु पेल्न थालेको हो। तर गत वर्षभन्दा करिब दुई साता ढिलो सञ्चालन भए पनि उद्योगमा उखु पर्याप्त पुगेको छैन।
उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार दैनिक ५५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भए पनि पहिलो दिन करिब १५ हजार क्विन्टल मात्र उखु आएको छ। कम उखु पुगेकाले उद्योगले रोकी–रोकी क्रसिङ गर्नुपरेको उनले बताए। उद्योगलाई सहज रूपमा चलाउन कम्तीमा पनि घानमै ३० हजार क्विन्टल उखु आवश्यक पर्ने उनको भनाइ छ।
किसानहरूले जाडो मौसमका कारण उखु कटानमा समस्या भएको बताएका छन्। भङ्गाहा–४ का किसान अरुण गिरीका अनुसार अत्यधिक चिसोका कारण मजदुर नपाउँदा उखु काटेर समयमा उद्योगसम्म पुर्याउन कठिनाइ भएको हो। अब एक–दुई दिनमा कटानले गति लिने उनको आशा छ।
यसपालि सरकारले उखुको मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकेको छ भने ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। यसरी किसानले प्रतिक्विन्टल ६९० रुपैयाँ पाउनेछन्। गत वर्ष भने मूल्य र अनुदानसहित प्रतिक्विन्टल ६२० रुपैयाँ मात्र पाएका थिए। किसानहरूले ७५० रुपैयाँ पाउनुपर्ने माग राखे पनि भाउ केही बढेकामा सन्तोष व्यक्त गरेका छन्।
जिल्लामा यस वर्ष करिब ९ हजार ६०० बिघा क्षेत्रमा उखुखेती गरिएको छ। यसमध्ये पाँच हजार बिघामा दोस्रो वर्षको बाली (खुट्टी) र चार हजार ६०० बिघामा पहिलो वर्षको बाली (मुडन) उखु रहेको उखु उत्पादक कृषक सङ्घले जनाएको छ।
रासस