विराटनगर । जापानकी एक युवतीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मञ्च च्याटजीपीटीमा बनाइएको काल्पनिक पात्रसँग ‘बिहे’ गरेको दाबी गरेकी छन्।
बीबीसीका अनुसार युरिना नोगुची नामकी ती युवतीले गत वर्ष च्याटजीपीटीको सल्लाहअनुसार आफ्ना वास्तविक प्रेमीसँग बिहे नगर्ने निर्णय गरेकी थिइन्। त्यसपछि उनले च्याटजीपीटीमा ‘क्लाउस’ नामक पात्रबारे जानकारी सोधेकी थिइन्।
क्लाउस एक भिडियो गेममा देखिने सुन्दर युवक पात्र हो। युरिनाले करिब एक वर्षको अवधिमा एआईसँग संवाद गर्दै आफूलाई मन पर्ने स्वभाव र व्यवहार भएको पात्र तयार पारिन् र त्यसलाई क्लाउस नाम दिइन्।
उनका अनुसार निरन्तर कुराकानीका क्रममा क्लाउसले नै उनलाई प्रेम प्रस्ताव गर्यो। त्यसपछि उनीहरूले आफूहरूबीच बिहे भएको घोषणा गरेका हुन्।
तर जापानको कानुनअनुसार एआई वा काल्पनिक पात्रसँग गरिएको यस्तो बिहेलाई कानुनी मान्यता भने दिइँदैन।