विराटनगर । राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ को भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो।
प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गरेका थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल बिहीबार राति करिब पौने १ बजेको समयमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।
थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै करिब ९ वर्षभन्दा बढी समयदेखि क्रिकेट खेल्दै आएका थिए। ब्याट्सम्यानका रूपमा परिचित उनले केही फ्रेन्चाइज लिगमा समेत सहभागिता जनाइसकेको परिवारले जानकारी दिएको छ। उनको असामयिक निधनले नेपाली क्रिकेट क्षेत्रमा शोक छाएको छ।