विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहँदा पनि मुलुकमा शान्तिपूर्ण चुनावको वातावरण नभएसम्म निर्वाचनको सामना गर्न असम्भव हुने बताएका छन्।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले भने, “अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन। वातावरण बनाउने जिम्मेवारी सरकारको हो। वातावरण बनेमा हामी जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौँ।”
ओलीले फागुन २१ मा प्रतिनिधिसभा चुनाव हुने हो भने त्यसको वातावरण बनाउनु सरकारको दायित्व भएकोमा जोड दिएका छन्। उनले गत भदौ २३ र २४ का घटनामा सुरक्षाकर्मीले परिस्थिति अनुसार सरकारी सम्पत्ति र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउने प्रयास कानुन विपरीत भएको बताए।