भियतनाममा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसले प्रशासनदेखि बीमा कम्पनीसम्मलाई चकित बनाएको छ। पाँच वर्षअघि कानुनी रूपमा मृत घोषित एक महिला अचानक जीवितै देखिएपछि ठूलो बीमा ठगीको जालो बाहिर आएको हो।
थान होआ प्रान्तका अधिकारीहरूका अनुसार न्गुयेन थी थु नामकी महिलाले गत डिसेम्बर १७ मा क्वाङ ट्रुङ वार्ड पिपुल्स कमिटीमा पुगेर आफ्नो मृत्यु दर्ता रद्द गरिदिन अनुरोध गरेकी थिइन्। तर अभिलेख जाँच्दा सन् २०२० जुनमै उनी कानुनी रूपमा मृत घोषित भइसकेको तथ्य भेटिएपछि अधिकारीहरू अचम्ममा परे।
प्रारम्भिक छानबिनपछि उक्त निवेदन दिने महिला नै पाँच वर्षअघि मृत घोषित थु भएको पुष्टि भयो। त्यसपछि घटनाको अनुसन्धान प्रान्तीय प्रहरीलाई सुम्पियो। प्रहरी अनुसन्धानले यो केवल प्रशासनिक त्रुटि नभई योजनाबद्ध बीमा ठगी भएको निष्कर्ष निकालेको छ।
थुले पतिसँग सम्बन्धविच्छेद गरेपछि आमासँग बस्दै आएका बेला चारवटा जीवन बीमा पोलिसी खरिद गरेकी थिइन्। पारिवारिक तनाव र स्वास्थ्य समस्याको बीचमा उनले बीमाको रकम हात पार्न नक्कली मृत्युको योजना बनाएको अनुसन्धानमा खुलेको छ।
सन् २०२० जुन ७ मा थुले निद्राको चक्की सेवन गरी बाथरुममा लडेर घाइते भएको नाटक गरिन्। सोही घटनालाई आधार मानेर परिवारले स्थानीय निकायलाई उनको मृत्यु भएको सूचना दियो। शंका नहोस् भनेर अन्त्येष्टि प्रक्रिया हतारमा सम्पन्न गरियो।
यो षड्यन्त्रको सत्य थु, उनकी आमा र एक तान्त्रिकलाई मात्र थाहा थियो। त्यही रात थु चुपचाप घर छोडेर अर्को प्रान्त पुगिन्। कानुनी रूपमा मृत भए पनि उनी त्यहाँ सामान्य जीवन बिताइरहेकी थिइन्।
भोलिपल्ट थुको आमाले छोरीको मृत्यु आधिकारिक रूपमा दर्ता गरिन् र बीमा कम्पनीहरूमा दाबी पेश गरिन्। अनुसन्धानका अनुसार दुई वटा बीमा कम्पनीबाट कुल १ अर्ब २० करोड भियतनामी डोङभन्दा बढी रकम प्राप्त गरिएको थियो। उक्त रकम पछि सम्पत्ति खरिद र विभिन्न लगानीमा प्रयोग गरिएको खुलेको छ।
पाँच वर्षसम्म गोप्य रूपमा जीवन बिताएकी थुले जब आफ्नो मृत्यु अभिलेख हटाउन प्रयास गरिन्, तब सम्पूर्ण घटना सार्वजनिक भयो। सोधपुछका क्रममा उनले बीमाको रकम पाउन जानाजानी आफ्नो मृत्युको नाटक गरेको स्वीकार गरेकी छन्। हाल प्रहरीले थु र उनकी आमालाई हिरासतमा लिएर बीमा ठगीसम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।