झापा । झापास्थित भूमि तथा मालपोत कार्यालय भद्रपुरमा सिस्टम समस्या देखिएको कारण कार्यालयको सम्पूर्ण सेवा ठप्प बनेको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्म सेवाहरू अवरुद्ध रहने जानकारी दिएको छ।
सूचनामा उल्लेख भए अनुसार कार्यालयको अनलाइन कम्प्युटर प्रणालीमा प्रयोग हुने सिस्टम पावर एक्सेस राउटर बिग्रिएकोले सेवा प्रवाह अवरुद्ध भएको हो। प्रमुख मालपोत अधिकृत लेवनकाश्यव अधिकारीका अनुसार, शुक्रबार बिहान अचानक समस्या देखा परेपछि कुनै सिस्टम चल्न नसकेकाले सेवामा असुविधा पुगेको छ।
विभागसँग माग गरिएको सिस्टम पावर एक्सेस राउटर आजै प्राप्त हुने अनुमान गरिएकोले, अधिकारीले आइतबारदेखि सेवा पुनः सुचारू हुने बताए।
यसकारण, कार्यालय पुग्न पुगेका सेवाग्राहीहरूले बिहानैदेखि सेवा लिन नसक्दा फर्किनु परेको थियो। अधिकारीहरूले सेवाग्राहीहरूलाई असुविधा पुगेकोमा क्षमायाचना गरेका छन्।