विराटनगर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा चरमपन्थी इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अमेरिकाले ‘शक्तिशाली र घातक आक्रमण’ सुरु गरेको दाबी गरेका छन्।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा आईएसलाई ‘आतंकवादी फोहोर’को संज्ञा दिँदै समूहले मुख्यतः निर्दोष इसाइहरूलाई लक्षित गर्दै क्रूर हत्या गरेको आरोप लगाएका छन्। उनले अमेरिकी सेनाले आईएसविरुद्ध ‘धेरै सटीक आक्रमणहरू’ गरेको बताए, तर आक्रमणको स्थान र मिति खुलाएका छैनन्।
यसअघि नोभेम्बरमा ट्रम्पले नाइजेरियामा सक्रिय इस्लामिक लडाकू समूहविरुद्ध कारबाहीका लागि अमेरिकी सेनालाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए। पछिल्लो पोस्टमा उनले भनेका छन्, “मेरो नेतृत्वमा, हाम्रो देशले कट्टरपन्थी इस्लामिक आतंकवादलाई फस्टाउन दिने छैन।”
तर ट्रम्पले नोभेम्बरमा दिएको चेतावनी कुन घटनासँग सम्बन्धित थियो भन्ने खुलाएका छैनन्। पछिल्ला महिनामा नाइजेरियामा इसाइ समुदायविरुद्ध नरसंहार भइरहेको दाबी अमेरिकाका केही दक्षिणपन्थी समूहहरूमा फैलिएको छ। यद्यपि, हिंसा निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले मुस्लिम र इसाइ समुदायबीचको मृत्यु दरमा ठोस प्रमाण नभएको बताएका छन्। नाइजेरियाको जनसंख्या मुस्लिम र इसाइ समुदायबीच लगभग समानरूपमा विभाजित छ।