विराटनगर । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसले बालविवाहको आशंका जन्माएको छ। भिडियो बुटवलस्थित एभरेस्ट इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आयोजना गरेको सांस्कृतिक कार्यक्रमको भएको खुलेको छ।
विद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बालबालिकालाई प्रयोग गरी विवाहको मञ्चन गरिएको थियो। भिडियोमा समान उमेर समूहका विद्यार्थीहरू हिन्दू परम्पराअनुसार विवाहका विभिन्न विधि पूरा गरिरहेको देखिन्छ।
दुलहा–दुलही, पण्डित, जन्ती तथा अभिभावकको भूमिकामा प्रस्तुत विद्यार्थीहरूले मण्डप निर्माण, यज्ञ परिक्रमा, कन्यादान र सम्धेलो लगाउनेजस्ता विधि समेत अभिनयका रूपमा देखाएका छन्।
विद्यालयले उक्त प्रस्तुति सांस्कृतिक कार्यक्रमअन्तर्गतको नाटक भएको स्पष्ट पारे पनि भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। धेरै प्रयोगकर्ताले यसले बालविवाहलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्न सक्ने भन्दै आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘विद्यालय जस्तो शैक्षिक संस्थानले बालबालिकालाई विवाहजस्तो संवेदनशील विषयमा प्रयोग गर्दा समाजमा गलत सन्देश जान सक्ने’ भन्दै जिम्मेवार प्रस्तुति आवश्यक रहेको टिप्पणी गरेका छन्।