काठमाडौँ । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच भएको सात बुँदे सहमतिलाई कडा शब्दमा आलोचना गरेका छन्। उनले उक्त सहमतिलाई जनताको मुद्दा भन्दा सत्ता र शक्तिको भागबण्डामा केन्द्रित राजनीतिक सम्झौता भएको आरोप लगाए।
नाम नलिइ रवि लामिछानेतर्फ संकेत गर्दै प्रसाईंले ७० लाखभन्दा बढी सहकारी पीडित अझै न्यायको पर्खाइमा रहेको स्मरण गराए। पीडितको रगत–पसिनाबाट संकलित रकम फिर्ता नहुँदा पनि सत्ताको खेलमा उनीहरूको आँसु कहिल्यै प्राथमिक एजेन्डा नबनाइएको उनको टिप्पणी छ।
यस्तै, बालेन साहतर्फ लक्षित गर्दै उनले पश्चिमी शक्तिहरूको योजनामा देशलाई अस्थिर बनाउने खेल भइरहेको दाबी गरे। सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म फैलिएको हिंसा, निर्दोष बालबालिकाको मृत्यु, हजारौँ घाइते र ८२ खरब रुपैयाँभन्दा बढीको राष्ट्रिय सम्पत्तिको क्षतिलाई ‘राजनीतिक संक्रमण’ को नाममा मेट्न नसकिने उनले बताए।
प्रधानमन्त्री र मन्त्रिमण्डलको कुर्सी मिलाउने खेलमा न्याय, उत्तरदायित्व र नैतिकता निरन्तर पराजित हुँदै गएको प्रसाईंको भनाइ छ। देशलाई निजी सम्पत्तिजस्तै सम्झेर सम्झौता गर्ने प्रवृत्तिलाई अब राजनीति भन्ने कि व्यापार भन्ने भन्दै उनले गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, “कालकोठरीभित्र बसेर अरूको डिजाइनमा देशको भविष्यसँग खेलिएको इतिहास हामीले बिर्सेका छैनौँ। पश्चिमी शक्तिहरूको डिजाइनमा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म फैलिएको आगो आज पनि बलिरहेको छ।”