काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जेनजी आन्दोलन सुशासन स्थापना र भ्रष्टाचार अन्त्यका लागि उठेको सकारात्मक तथा चेतनामूलक अभियान भएको बताएका छन्। उनले यस आन्दोलनलाई पवित्र उद्देश्यसहित अघि बढाइएको जनाउँदै त्यसको मर्मलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह गरे।
भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच देखिएको सहकार्यलाई अस्वाभाविक रूपमा लिन नहुने स्पष्ट पारे। लोकतान्त्रिक अभ्यासमा राजनीतिक दल तथा नेतृत्वहरूबीच सहकार्य र विभाजन स्वाभाविक प्रक्रिया भएको उनको भनाइ थियो। उनका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपा र मेयर साहले एकताको सन्देश दिएका हुन्।
नेपालको लोकतान्त्रिक व्यवस्थालाई अझ पारदर्शी, स्वच्छ र विश्वसनीय बनाउने जिम्मेवारीमा नेकपा एमाले दृढ रहेको भट्टराईले बताए। उनले संवैधानिक प्रक्रियालाई सही दिशामा अघि बढाउन एमाले सधैं तयार रहेको उल्लेख गरे।
भदौ महिनामा भएको जेनजी आन्दोलनबारे बोल्दै उनले त्यस आन्दोलनलाई कसैले स्वार्थअनुसार हाइज्याक गर्न सक्ने खतरा औँल्याए। त्यसैले आन्दोलनका अगुवाहरूले सचेतता र जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।
भट्टराईले भने, “भदौ २३ गते भएको जेनजी आन्दोलन हाम्रो नयाँ पुस्ताको जागरण थियो। त्यो सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुला हुनुपर्ने मागसँग जोडिएको थियो। यी सबै पवित्र र लोकतान्त्रिक मागहरू हुन्।”
उनले नेकपा एमाले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने लक्ष्यसहित संगठनात्मक तयारीमा जुटिरहेको पनि जानकारी दिए। पार्टीभित्र देखिएका आन्तरिक मतभेदलाई थाती राख्दै एकतालाई अझ बलियो बनाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेको उनले बताए।
चुनावको सफलताका लागि पार्टीभित्र एकजुट भएर अघि बढ्नु अपरिहार्य रहेको उल्लेख गर्दै भट्टराईले सबै नेता–कार्यकर्तालाई साझा लक्ष्यमा केन्द्रित हुन आह्वान गरे।