सौराहाको पहिचान बन्यो हात्ती महोत्सव, पर्यटन र संरक्षणको संगम

0 Shares

चितवन । ‘हात्तीको राजधानी’ भनेर चिनिने चितवनको सौराहा अहिले केवल पर्यटकीय गन्तव्य मात्रै होइन, विशिष्ट सांस्कृतिक र संरक्षणमुखी उत्सवको केन्द्रसमेत बनेको छ। १९औँ संस्करणसम्म आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव सौराहाको पहिचानकै रूपमा स्थापित भइसकेको छ।

नेपालमै सौराहामा मात्र आयोजना हुने यो अनौठो महोत्सव अन्य साधारण उत्सवभन्दा फरक छ। पर्यटन व्यवसायीहरूका अनुसार, हात्ती महोत्सव मनोरञ्जनमा सीमित छैन, यसले हात्ती र मानवबीचको सम्बन्धलाई बलियो बनाउँदै संरक्षण चेतना फैलाउने र पर्यटक आकर्षित गर्ने प्रभावकारी माध्यमको काम गरेको छ।

सन् २००४ मा हात्ती क्याराभान र अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताबाट शुरू भएको यो यात्रा अहिले २१ वर्ष पूरा गरिसकेको छ। प्रारम्भिक चरणमै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा चर्चा कमाएको महोत्सव समयसँगै परिमार्जन हुँदै आएको छ। पछिल्ला वर्षहरूमा पशु अधिकार र हात्तीमैत्री कार्यक्रममाथि उठेका बहसपछि आयोजकहरूले कार्यक्रमलाई अझ संवेदनशील र संरक्षणमैत्री बनाउँदै लगेका छन्।

यस वर्ष पुस ११ गतेदेखि शुरू भएको महोत्सव हिजो औपचारिक रूपमा सम्पन्न भएको छ। क्षेत्रीय होटल संघ चितवनका पूर्व कोषाध्यक्ष तथा होटल सेभेनस्टारका सञ्चालक माधव दुवाडीका अनुसार, यो महोत्सव सौराहाको ‘ब्राण्ड’ बनिसकेको छ। उहाँले अफ सिजनमै पनि हात्ती महोत्सवका कारण २० देखि ३० प्रतिशतसम्म पर्यटक संख्या बढेको दाबी गर्नुभयो।

क्रिसमस र अंग्रेजी नयाँ वर्षको आसपास विदेशी पर्यटकहरू आफ्नै देश फर्किने समय भएकाले सौराहामा सामान्यतया चहलपहल घट्ने गर्छ। विगतमा आन्तरिक पर्यटन कमजोर हुँदा यस्तो समयमा पर्यटकीय क्षेत्र सुनसान हुने गरेको थियो। तर, पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार, यस्ता महोत्सवहरूले फर्किन लागेका पर्यटकलाई केही दिन थप बस्न प्रेरित गर्नुका साथै नयाँ पर्यटक भित्र्याउन ठूलो भूमिका खेल्छन्।

हात्ती सौराहाको मात्र होइन, सम्पूर्ण चितवनकै गौरव भएको जानकारहरूको भनाइ छ। टाँगा र घोडाजस्ता परम्परागत साधन लोप हुँदै जाँदा हात्तीले वन्यजन्तु पर्यटनमा अझ ठूलो योगदान पुर्‍याइरहेको हात्तीविज्ञ डा. कमल गैरे बताउनुहुन्छ। उहाँका अनुसार, वन्यजन्तु व्यवस्थापन र संरक्षणमा हात्ती अपरिहार्य छन्। बाघ वा गैंडा बस्तीमा पसेको अवस्थामा हात्ती नै मुख्य साधन बन्ने भएकाले पर्यटन र संरक्षणलाई जोड्ने सेतुका रूपमा हात्ती महोत्सव अत्यन्त महत्वपूर्ण बनेको छ।

यसरी, सौराहाको हात्ती महोत्सव केवल उत्सव नभई पर्यटन प्रवर्द्धन, संरक्षण सन्देश र स्थानीय पहिचानको साझा प्रतीकका रूपमा स्थापित हुँदै गएको छ।

सम्बन्धित समाचारसबै