काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शैक्षिक गुणस्तर सुधार अब विकल्प नभई अनिवार्य आवश्यकता भएको बताएका छन्। बानेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको मूल दायित्व हुनुपर्नेमा जोड दिए।
संयोजक दाहालले शिक्षा र स्वास्थ्य सेवालाई नि:शुल्क बनाउने आफ्नो दीर्घकालीन चाहना रहेको उल्लेख गर्दै त्यसका लागि सामुदायिक शिक्षाको गुणस्तर मजबुत बनाउने प्रयासमा आफू सधैं साथमा रहने स्पष्ट पारे। गुणस्तरीय शिक्षा बिना सामाजिक न्याय र समान अवसर सम्भव नहुने उनको भनाइ थियो।
हालै देखिएको ‘जेनजी आन्दोलन’तर्फ संकेत गर्दै उनले देश अहिले संवेदनशील मोडमा रहेको र यस्तो अवस्थामा राष्ट्रलाई निकास दिने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको बताए। संकटमा परेको मुलुकलाई अराजकतातर्फ धकेलिन नदिन सबै शक्ति एकजुट हुनुपर्ने र राज्यलाई सही दिशामा लैजाने जिम्मेवारी विशेषगरी युवापुस्ताको काँधमा आएको उनले बताए।
प्रचण्डका अनुसार, जेनजी आन्दोलनले नयाँ पुस्ता राजनीतिप्रति उदासीन छ भन्ने धारणा गलत साबित गरिदिएको छ। ‘नवयुवाहरू देशको शासन प्रणाली, लोकतन्त्र र समग्र अवस्थाबारे गहिरो चासो राख्छन् भन्ने कुरा यो आन्दोलनले देखाएको छ,’ उनले भने। उनले युवाहरू सचेत र जिम्मेवारीपूर्ण ढंगले आवाज उठाइरहेको भन्दै त्यसको प्रशंसा पनि गरे।
कार्यक्रमको अन्त्यतिर उनले युवाहरूलाई शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत अघि बढ्न आग्रह गरे। ‘देशलाई स्थायित्व र समृद्धितर्फ लैजान हिंसा होइन, लोकतान्त्रिक बाटो नै सही विकल्प हो,’ भन्दै उनले वर्तमान परिस्थितिमा सबै मिलेर समाधान खोज्नुपर्ने आवश्यकता औंल्याए।