रवि –बालेन सहमति: लोकप्रियता मात्र, दीर्घकालीन योजना छैन

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’बीच भएको सहमतिले देशलाई दीर्घकालीन निकास दिन सक्ने सम्भावना नदेखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालयको केन्द्रिय द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागले आयोजित कार्यक्रममा विश्लेषक डा. इन्द्र अधिकारी, केशव दाहाल, चन्द्रदेव भट्ट र लेखनाथ पाण्डेले रवि–बालेन सहमति मुख्यतः पपुलिजममा आधारित भएको र वास्तविक नीति तथा योजना नभएको टिप्पणी गरे।

विश्लेषकहरूले भनेका छन्, “यो सहमति देखाउन मात्र हो, जसले जनताको असन्तोष र निराशालाई प्रयोग गरेर छोटो अवधिमा लोकप्रियता दिलाउन सक्छ, तर मुलुकका जटिल समस्याहरूको दीर्घकालीन समाधान दिन असमर्थ हुनेछ।”

नेपालमा राजनीतिक पपुलिजमको बढ्दो प्रभाव, संस्थागत कमजोरी र मिडियाको कमजोर भूमिका यस प्रकारका राजनीतिक एकताको सम्भावना बढाउने कारक भएको उनीहरूले बताए। राजनीतिक एजेण्डा, देशलाई निकास दिने ठोस योजना र नैतिक आधारविनाको पदीय भागबण्डा यस एकतामा देखिएको छैन।

विश्लेषकहरूको साझा मत अनुसार, रवि–बालेन सहमति वैचारिक गहिराइ र नीतिगत मार्गचित्रविनाको पपुलिस्ट मिलापमात्र हो, जसले छोटो समयको लोकप्रियता त दिलाउन सक्छ, तर देशलाई दीर्घकालीन लाभ पुर्‍याउने क्षमता कम छ।

सम्बन्धित समाचारसबै