हादीको हत्याका मुख्य अभियुक्त भारत भागेको ढाका प्रहरीको दाबी,नेपाल–भारत सीमा सुरक्षा तिव्र

0 Shares

 झापा । ढाका प्रहरीले हादी हत्यामा संलग्न दुई मुख्य संदिग्धहरूको पहिचान गरेको छ। फैसल करिम मसुद र आलमगिर शेख नामक यी व्यक्तिहरू भारतको मेघालय राज्यतर्फ भागेको ढाका प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत दाबी गरेको छ। गोली प्रहारसँगै नेसनलिस्ट सिटिजन पार्टी (एनसीपी)का नेता मोतलेब सिकदरमाथि पनि हमला भएको थियो। डिसेम्बर २२ मा भएको उक्त घटनामा सिकदर अहिले उपचाराधीन छन्।

बंगलादेशको राजधानी ढाकामा गत डिसेम्बर १२ मा हतियारधारी समूहले विद्रोही नेता ओस्मान हादीमाथि गोली प्रहार गरेपछि उनको मृत्यु भएको थियो। हादी गत वर्ष जुलाई २०२४ मा शेख हसिनाको नेतृत्वमा रहेको आवामी लिग सरकारको पतनमा सक्रिय रहेको विद्रोही नेताका रूपमा परिचित थिए।

बंगलादेशमा तनाव बढेसँगै नेपाल–भारत सीमामा सुरक्षा कडा पारिएको छ। पूर्वी नाका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा जाँच कडा पारेका छन्। काँकडभित्ता प्रहरीले शंकास्पद व्यक्तिहरूलाई कुनै पनि बहानामा नेपाल प्रवेश नगर्न निर्देशन दिएको छ। डीएसपी राजन लामाका अनुसार “हाम्रो प्राथमिकता शंकास्पद व्यक्तिहरूको देशभित्र प्रवेश रोक्नु हो।”

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाका अनुसार सीमा क्षेत्रमा खटिने सबै कमान्डरहरूले केन्द्रको निर्देशनअनुसार निगरानी र जाँच कडा गर्नुपर्ने भएको छ। नेपाली सुरक्षा निकायहरूले भारतीय सीमा बलसँग पनि सहकार्य गर्दै शंकास्पद गतिविधि रोक्ने प्रयास गरिरहेका छन्।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र मातहतका सबै सुरक्षा निकायलाई सम्भावित शंकास्पद गतिविधि रोक्न विशेष निर्देशन दिएको छ।

सम्बन्धित समाचारसबै