पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशमा राजनीतिमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। सोमबार पोखरामा विज्ञापन बोर्ड र मन्त्रालयद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय विज्ञापन अनुगमन तथा व्यवस्थापन अन्तरक्रियामा उनले सही नेतृत्व चयन गरेर मात्र देशमा ठोस परिवर्तन सम्भव हुने बताए।
मन्त्री खरेलले निर्वाचनको तयारी पूरा भइसकेको र राजनीतिक दलहरूले समानुपातिक सूची बुझाउने विश्वास व्यक्त गरे। उनले व्यक्तित्व मात्रै पर्याप्त नभई देशलाई अघि बढाउन विवेकसङ्गत नेतृत्वको आवश्यकता रहेको पनि बताए।
सङ्घ र प्रदेशबीचको अस्थिरतालाई औंल्याउँदै उनले सङ्घीयताको व्यावहारिक कार्यान्वयन अझै अपूर्ण रहेको बताए। साथै, स्थानीय तह जवाफदेही हुँदा मात्र जनताप्रतिको जिम्मेवारी पूरा हुने स्पष्ट पारे।
खरेलले विज्ञापन सम्बन्धी नीतिमा सुधार ल्याउन सरकारले सहजीकरण गर्ने र व्यवस्थापन, अनुगमन तथा नियमनका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पनि बताए।