काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै पनि किसिमको आदेश नदिएको बताएका छन्।
जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा लेखकले आन्दोलन नियन्त्रणका क्रममा कति बल प्रयोग गर्ने भन्ने निर्णय राजनीतिक नेतृत्वको होइन, सुरक्षानिकायको व्यावसायिक जिम्मेवारी भएको स्पष्ट पारे। उहाँका अनुसार प्रधानमन्त्री वा मन्त्रीलाई त्यस्तो आदेश दिने न त कानूनी अधिकार छ, न व्यवहारिक आधार।
लेखकले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सामान्य निर्देशन मात्र दिएको बताउँदै त्यसलाई बल प्रयोगको आदेशका रूपमा अर्थ्याउनु भ्रमपूर्ण भएको जिकिर गरे।
आन्दोलनका क्रममा मानवीय क्षति भएपछि राजनीतिक नैतिकताको सम्मान गर्दै आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको उहाँको भनाइ छ। नवयुवा आन्दोलनका मागहरू जायज भए पनि आन्दोलनमा घुसपैठ हुँदा ठूलो धनजनको क्षति हुन पुगेकोप्रति लेखकले दुःख व्यक्त गरे।