काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र उपाय निर्वाचन रहेको भन्दै सबै पक्षलाई यसमा सहयोग गर्न आह्वान गर्नुभएको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गर्नुभयो। उहाँले अब मुलुक थप अस्थिरता र अशान्ति सहन नसक्ने अवस्थामा पुगेको बताउँदै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्न सबैलाई सुझाव दिनुभएको छ
प्रधानमन्त्री कार्कीले मुलुक निर्वाचनको चरणमा प्रवेश गरिसकेको र जनताबाट आफ्ना मुद्दाहरू अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको सही बाटो भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “धेरै कठिन अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ। सबै प्रकारका संशयलाई चिर्दै मुलुक पूर्णरूपमा निर्वाचनको माहोलमा प्रवेश गरेको छ। यस्तो बेलामा सबै पक्ष जिम्मेवार बन्नुपर्छ। यो देश मेरो पनि हो भन्ने भावना राखौं।”
शान्ति कायम राख्ने सन्देशस्वरूप प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिनुभयो।
उहाँले थप्नुभयो, “हामी न्यायका पक्षधर हौँ। सत्ताभोग र सुविधा उपभोगका लागि होइनौँ। भ्रष्टाचारको अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रिया अघि बढाएका छौँ। परिणाम रातारात देखिएन भने पनि आधारशिला तयार पार्दै गएका छौँ। तपाईंले उठाएका केही जायज मुद्दाको सम्बोधनका लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको छ र थप छलफल निरन्तर चल्नेछ।”