काठमाडौं। राष्ट्र, लोकतन्त्र र एकताको पक्षमा ज्यान अर्पण गर्न तयार भएर स्वदेश फर्किएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ऐतिहासिक निर्णयको सम्झनामा आज देशभर मेलमिलाप दिवस मनाइँदैछ।
आठ वटा मृत्युदण्डसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेका बेला पनि बिपी कोइरालाले राष्ट्रिय एकता कमजोर नहोस् भन्ने दृढ अठोटका साथ ‘राष्ट्रिय मेलमिलापको नीति’ अघि सारे। यही नीतिलाई आत्मसात गर्दै विसं २०३३ पुस १६ गते उनी भारतको लामो निर्वासन त्यागेर नेपाल फर्किएका थिए।
उनको साथमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायतका नेता तथा कार्यकर्ता पनि स्वदेश फर्किएका थिए। करिब आठ वर्षको निर्वासित जीवन अन्त्य गर्दै उनीहरू राष्ट्रिय स्वाभिमान र अखण्डताको पक्षमा उभिएका थिए।
भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको, पाकिस्तान अलग्गिएको तथा एसियाली मुलुकहरूमा विखण्डनका घटनाहरू देखिरहेका बिपीले नेपाल पनि त्यही दिशामा नजाओस् भन्ने चिन्तासहित मेलमिलापको बाटो रोजेका थिए। आजभन्दा ४९ वर्षअघि गरिएको त्यो निर्णय नेपाली राजनीतिक इतिहासमा दूरदर्शी कदमका रूपमा स्मरण गरिन्छ।
विसं २०१७ पुस १ गते राजा महेन्द्रद्वारा गरिएको शाही ‘कु’ पछि बिपी कोइरालालाई सिंहदरबारमा थुनिएको थियो। पछि उनलाई सुन्दरीजलस्थित बन्दीगृहमा सारियो। आठ वर्षपछि उपचारका लागि रिहा भई भारत पुगेका उनले त्यहाँबाट पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक संघर्ष निरन्तरता दिएका थिए।
तर स्वदेश फर्किएपछि पनि उनलाई सहजता मिलेन। त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै बिपी र गणेशमान सिंहलगायत नेताहरूलाई पुनः सुन्दरीजल बन्दीगृहमा थुनियो। पछि उपचारका सर्तमा रिहा भए पनि फेरि बन्दी जीवन भोग्नुपर्यो। आज त्यो सुन्दरीजल बन्दीगृह बिपी सङ्ग्रहालयका रूपमा रूपान्तरण भइसकेको छ।
बन्दी जीवनकै क्रममा बिपी कोइरालाले नेपाली साहित्यलाई अमूल्य कृति दिए। ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘श्वेतभैरवी’, ‘मोदिआइन’, ‘हिटलर र यहुदी’ जस्ता कृति र आत्मकथा ‘आफ्नो कथा’ उनका जेल जीवनका साक्षी हुन्। उनी राजनेता मात्र नभई नेपाली साहित्यमा यौन मनोवैज्ञानिक धाराका प्रवर्तकका रूपमा पनि स्थापित छन्।
मेलमिलाप दिवसका अवसरमा आज नेपाली कांग्रेस तथा उसका भ्रातृ संगठनहरूले देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन्। बिपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रमको तयारी गरेको छ।