काठमाडौँ । दीर्घकालीन राष्ट्रिय नीति तथा कार्यान्वयन फ्रेमवर्क ‘नेपालवाद’को औपचारिक घोषणा बिहीबार काठमाडौंमा भएको छ। कार्यक्रममा खेम शर्माले राज्य सञ्चालनको दीर्घकालीन दिशा तथा सार्वजनिक संवादका लागि ‘२४ दिन, २४ विषय’ राष्ट्रिय श्रृंखला सुरु गरिएको जानकारी दिए।
शर्माका अनुसार यो श्रृंखलाको २५औँ दिन काठमाडौंमा पहिलो समापन गरिनेछ र बाँकी कार्यक्रमहरू पछि सार्वजनिक गरिनेछन्।
शर्माले भने, “राज्य सञ्चालनको दीर्घकालीन दिशा के हो? नागरिकले सेवा पाउँदा सम्मान किन कम अनुभूत गर्छन्? नतिजा जीवनमा किन छाप नबन्छ? युवाले देशभित्र भविष्य स्पष्ट देखिरहेका छैनन्?” यी प्रश्नलाई आधार मानेर ‘नेपालवाद’ फ्रेमवर्क सार्वजनिक गरिएको हो। उनले स्पष्ट पारे कि यो अभियान कुनै राजनीतिक दलको घोषणा, आन्दोलन वा विरोध–समर्थन अभियान होइन।
उनका अनुसार ‘नेपालवाद’ नागरिक आधारित नीति प्रस्ताव हो, जसले राष्ट्र सञ्चालनलाई छोटो निर्णय, अस्थायी व्यवस्थापन र भाषणकेन्द्रित शैलीबाट निकालेर दीर्घकालीन दिशा, संस्थागत क्षमता, पारदर्शिता र नतिजा–केन्द्रित कार्यान्वयनतर्फ लैजाने लक्ष्य राखेको छ।
शर्माले नेपालको समस्या सबैलाई थाहा भए पनि कानुन, प्रक्रिया, जिम्मेवारी, समयसीमा र मापनसँग बाँधेर लागू गर्ने क्षमतामा कमजोरी देखिएको बताए। त्यसैले ‘नेपालवाद’ले बहसलाई केवल के गर्ने? मा सीमित नराखी, कसरी गर्ने, कसले गर्ने, कुन चरणमा गर्ने र नतिजा कसरी मापन गर्ने? भन्ने ढाँचामा सार्वजनिक रूपमा प्रस्तुत गर्न खोजेको हो।
यो श्रृंखला आजदेखि २४ दिनसम्म सञ्चालन हुनेछ। प्रत्येक दिन नेपालवादले राष्ट्र सञ्चालनका २४ प्रमुख विषयमा एक–एक ‘पोलिसी ब्रिफ’ सार्वजनिक गर्नेछ। हरेक पोलिसी ब्रिफ एउटै ढाँचामा हुनेछ।
शर्माले बताएअनुसार, यसले आउँदो निर्वाचनको सन्दर्भमा मतदाता र उम्मेदवार दुवैका लागि साझा, तथ्यमा आधारित मूल्याङ्कन मापदण्ड तयार गर्ने लक्ष्य राखेको छ। दैनिक पोलिसी ब्रिफले मतदातालाई लोकप्रिय नारा वा क्षणिक भावनाभन्दा बाहिर गएर प्रस्तावको कार्यान्वयन, जिम्मेवारी, समय, बजेट सम्भाव्यता र नतिजा मापनका आधारमा निर्णय गर्न सहज बनाउनेछ।
साथै, प्रत्येक दिन सम्बन्धित विषयसँग सम्बन्धित ११ नागरिक प्रश्न पनि सार्वजनिक गरिनेछ, जसले चुनावी बहसलाई नाराबाट माथि उठाएर सभ्य, तथ्यमा आधारित र उत्तरदायित्व केन्द्रित बनाउने उद्देश्य राखेको छ।