विराटनगर । सशस्त्र प्रहरीको गोली लागेर स्थानीय युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको सुनसरीको कोशी गाउँपालिकामा अवस्था सामान्य बनाउन पाँच बुँदे सहमति भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय र पीडित पक्षबीच भएको वार्ताबाट सहमति जुटेको हो।
सहमति अनुसार घटनाको वास्तविकता पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। छानबिनका क्रममा सुरक्षा निकायको लापरवाही पुष्टि भएमा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमतिमा उल्लेख छ।
वार्तामा पीडित परिवारको जीविकोपार्जनलाई ध्यानमा राख्दै मृतक विजय साहकी श्रीमतीलाई रोजगारीको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीले पहल गर्ने सहमति भएको छ। साथै उनका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा व्यक्त गरेमा नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने निर्णय पनि गरिएको छ।
यस सहमतिसँगै पीडित पक्षले शव पोस्टमार्टमका लागि बुझाउन र अन्त्येष्टि गर्न सहमति जनाएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार सहमतिपछि अहिले स्थानीय अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ।