सुर्खेत । घरखर्च र छोराछोरीको पढाइका लागि आफन्तबाट सापटी लिएको ८१ हजार रुपैयाँ हराएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का टेकबहादुर कुमाल गम्भीर तनावमा परेका थिए। वीरेन्द्रनगर बजारबाट रकम लिएर घर फर्किने क्रममा बाटोमै पैसा खसेको थाहा पाएपछि उनले दिनभरि आफू हिँडेको बाटोभरि खोजी गरे, तर कतै फेला पार्न सकेनन्।
निरास भएर घर फर्किएका कुमालका लागि आशा लगभग सकिएको अवस्थामा आफन्तमार्फत सामाजिक सञ्जाल फेसबुकमा एउटा सुखद खबर पुगेको थियो। हराएको उक्त रकम वीरेन्द्रनगर क्षेत्रमा बस्दै आएका लेकबेसी नगरपालिका–सुर्खेतका प्रेमबहादुर रास्कोटीले फेला पारेर सुरक्षित राखेका थिए।
रास्कोटीले भेट्टाएको नगद रकम स्थानीय रेडियो भेरी एफएममा बुझाएका थिए। रेडियो भेरीका पत्रकार मधुवन वीसीको उपस्थितिमा उक्त ८१ हजार रुपैयाँ वास्तविक धनी टेकबहादुर कुमाललाई औपचारिक रूपमा फिर्ता गरिएको हो।
समाजमा नकारात्मक गतिविधिका समाचार बढी आउने समयमै प्रेमबहादुर रास्कोटीले देखाएको इमानदार व्यवहारले सकारात्मक सन्देश दिएको छ। बाटोमा भेटिएको ठूलो रकम आफूसँग नराखी सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने उनको निर्णयको स्थानीयस्तरमा व्यापक प्रशंसा भइरहेको छ।
रास्कोटीले भने, “बाटोमा पैसा भेट्दा क्षणभर सोच आयो, तर त्यो मेरो नभएको कुराले मनले स्वीकार गरेन। कसैको ठूलो आवश्यकता हुन सक्छ भन्ने सोचेर फिर्ता गर्नु नै सही ठानेँ। इमानदारीले नै आत्मसन्तुष्टि दिन्छ।”
रकम फिर्ता पाएपछि भावुक बनेका कुमालले रास्कोटीप्रति आभार व्यक्त गर्दै भने, “मैले पैसा भेटिन्छ भन्ने आशा गुमाइसकेको थिएँ। यस्तो इमानदार व्यवहारले समाजप्रतिको विश्वास अझ बलियो बनाएको छ।”
यस घटनाले सत्य, नैतिकता र मानवीय मूल्य आज पनि समाजमा जीवित रहेको सन्देश दिँदै अरूलाई पनि जिम्मेवार र इमानदार बन्न प्रेरणा दिएको छ।