विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणमा मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
मोरङ जिल्ला अदालतका न्यायाधीश टंकबहादुर महतको इजलासले बिहीबार थुनछेक बहसपछि मुद्दाको अन्तिम फैसला नआएसम्म अधिकारीलाई कारागार पठाउने निर्णय गरेको हो। अदालतको आदेशलगत्तै उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको छ।
अंशु असोज २१ गतेदेखि बेपत्ता भएकी थिइन्। लामो खोजीपछि कात्तिक ७ गते उनको शव जंगलमा टाउको र शरीर छुट्टिएको, सडेको अवस्थामा फेला परेको थियो। घटनाको विभत्सताले स्थानीय समुदायमा व्यापक आक्रोश र त्रास फैलिएको थियो।
प्रहरीले मंसिर १८ गते पदमबहादुर अधिकारीलाई पक्राउ गरेको थियो भने मंसिर २१ गते ‘जस्टिस फर अंशु गौतम’ अपरेसनमार्फत बलात्कारपछि हत्या भएको निष्कर्षसहित उनलाई सार्वजनिक गरेको थियो।
पीडित अंशुका बुबा नवीन गौतमको किटानी जाहेरी, संकलित प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न पर्याप्त आधार देखिएको ठहर गरेको हो।
अब उक्त मुद्दा जिल्ला अदालत मोरङमा नियमित सुनुवाइ हुँदै अन्तिम किनारामा पुग्नेछ।