विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोलीका क्रममा ४५ वर्षीय विजय साहको मृत्यु भएपछि घटना संलग्न आशंकामा वरिष्ठ हवल्दार नवराज खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेका अनुसार हवल्दार खतिवडा बिहीबारदेखि नै प्रहरीको सम्पर्कमा छन् र उनीसँग घटनासम्बन्धी विस्तृत सोधपुछ भइरहेको छ।
बुधबार मध्यराति, १० बोरा चिनी बोकेको अटो रिक्सालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको थियो। सशस्त्र प्रहरीले तस्कर समूहले पहिले आक्रमण गरेको र जवाफी कारबाहीमा गोली चलाउनुपरेको दाबी गरेको छ।
तर स्थानीयबासीले १० बोरा चिनीका लागि मानवीय ज्यान लिने गरी गोली चलाइएको भन्दै विरोध जनाइरहेका छन्। प्रहरीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ र दोषी ठहर भए कानूनी प्रक्रिया अगाडि बढाइनेछ।