0
Shares
काठमाडौँ । कतार सरकारले त्यहाँ विभिन्न मुद्दामा कैद भई रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर प्रदान गरिएको यस आममाफीप्रति नेपाल सरकारले आभार व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा मानवीय आधारमा गरिएको यो निर्णयलाई नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्ध, आपसी मित्रता र सौहार्दताको महत्वपूर्ण संकेतका रूपमा लिएको उल्लेख छ।
मन्त्रालयका अनुसार यस्तो उदार कदमले दुवै देशबीचको आपसी समझदारी, सहकार्य र सहयोगलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। नेपाल र कतारबीच विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन यस प्रकारका पहलले सकारात्मक भूमिका खेल्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ। रासस