गैरकानुनी गतिविधिमा संलग्न ५ सयभन्दा बढी विदेशी निष्कासन

0 Shares

काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा नेपालमा बसेर गैरकानुनी गतिविधिमा संलग्न ५ सय १ जना विदेशी नागरिकलाई देश निकाला गरिएको छ। अध्यागमन कानुन उल्लङ्घन तथा विभिन्न फौजदारी अपराधमा मुछिएका उनीहरूलाई गृह मन्त्रालय र अध्यागमन विभागको समन्वयमा निष्कासन गरिएको हो।

अध्यागमन विभागका अनुसार निष्कासितमध्ये ४ सय ३७ जना भिसाको अवधि सकिएपछि पनि लुकिछिपी नेपालमा बसिरहेका थिए भने ६४ जना गम्भीर आपराधिक कसुरमा जेल सजाय पूरा गरिसकेका व्यक्ति हुन्। अघिल्लो वर्ष ४ सय ४ जना विदेशी निष्कासनमा परेकामा यस वर्ष संख्या झनै बढेको देखिन्छ।

निष्कासनमा परेका विदेशीमध्ये चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी १ सय २० जना रहेको छ। त्यसपछि बंगलादेशका ७५, अमेरिकाका ३५, बेलायतका २२ र पाकिस्तानका १८ जना नागरिक रहेका छन्। तस्करी, साइबर अपराध, ठगी, अवैध विवाह ब्युरो सञ्चालन तथा किर्ते कार्यमा संलग्न देखिएका उनीहरूलाई कसुरको गम्भीरताका आधारमा २ देखि १० वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

विभागको तथ्याङ्कअनुसार सन् २०१९ मा सबैभन्दा धेरै ६ सय ७१ जना विदेशी नागरिक निष्कासनमा परेका थिए। पछिल्ला वर्षहरूमा पर्यटक भिसामा आएका केही विदेशी नागरिक साइबर अपराध, लागुऔषध कारोबार, यौन शोषण, सुन तथा विदेशी मुद्रा तस्करी र वन्यजन्तुको अवैध व्यापारमा संलग्न हुने गरेको पाइएको छ। केही पश्चिमा मुलुकका नागरिक सामाजिक संस्थाको आवरणमा जबर्जस्ती धर्म परिवर्तन गराउने गतिविधिमा समेत संलग्न देखिएका छन्।

विदेशी नागरिकका गतिविधि प्रभावकारी रूपमा नियमन हुन नसकेको गुनासो बढिरहेका बेला अध्यागमन विभागले बिहीबारदेखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार अब विदेशी नागरिक कुन होटलमा बस्छन्, कहाँ घुम्छन् र के गतिविधि गर्छन् भन्ने विवरण रियल टाइममा प्रणालीमार्फत उपलब्ध हुनेछ।

प्रारम्भिक चरणमा काठमाडौँका तारे होटल र ट्रेकिङ एजेन्सीहरूलाई प्रणालीमा आबद्ध गरिएको छ। आगामी १ मार्चदेखि आन्तरिक उडान सेवा, ट्राभल एजेन्सी तथा सार्वजनिक यातायात क्षेत्रलाई समेत अनिवार्य रूपमा यस प्रणालीमा जोडिने विभागले जनाएको छ। यससँगै नेपाल प्रवेशदेखि बाहिरिने समयसम्म विदेशी नागरिकका गतिविधि सरकारी निगरानीको दायरामा रहने दाबी गरिएको छ।

सम्बन्धित समाचारसबै