सशस्त्र प्रहरीद्वारा नागरिक हत्या आरोपः रानी, जोगबनी नाकामा विरोध सभा

0 Shares

विराटनगर, २०८२ पुस १९
सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बलद्वारा एक जना निर्दोष नागरिकलाई गोली हानी हत्या गरिएको घटनाको विरोधमा मोरङको रानी–जोगबनी नाकामा खबरदारी विरोध प्रदर्शन गरिएको छ।

शनिबार दिउँसो ३ बजेदेखि विराटनगर महानगरपालिका वडा नं. १५ स्थित बोर्डर चेकपोस्ट नम्बर १ ढाटमा मोरङ जेन्जीका प्रतिनिधि जम्सेद रोज, ईशान खान, सुजित साह, अमिता गिरीलगायत विराटनगर–१५ का करिब ५० जना स्थानीयको उपस्थितिमा प्रदर्शन गरिएको हो। घरेलु प्रयोजनका किराना सामान नेपाल ल्याउँदै गरेको क्रममा सशस्त्र प्रहरी बलले गोली प्रहार गरी एक सर्वसाधारणको ज्यान लिएको घटनाप्रति आक्रोश व्यक्त गर्दै प्रदर्शनकारीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

खबरदारी विरोध प्रदर्शनका क्रममा “गोली होइन कानुन चलाऊ”, “राज्य कर खान्छ, जिम्मेवारीबाट भाग्छ”, “बर्दीले हत्या ढाक्न पाउँदैन”, “समस्या गरिबी हो, गरिब होइन”, “आज विजय, भोलि को?”, “Stop killing citizens”, “महँगी घटाऔं, जनता बचाऔं” लगायतका नाराहरू लगाइएका थिए।

प्रदर्शनलाई सम्बोधन गर्दै मोरङ जेन्जीका प्रतिनिधि जम्सेद रोजले राज्य जनताप्रति उत्तरदायी नभएको आरोप लगाए। उनले भने, “यदि स्वदेशमै सुपथ मूल्यमा सामान उपलब्ध हुन्थ्यो भने सीमापारि गएर किनमेल गर्नुपर्ने बाध्यता रहँदैनथ्यो। नेपालमा आलु प्रतिकेजी ४० रुपैयाँ पर्छ भने भारतको जोगबनी बजारमा २० रुपैयाँमै पाइन्छ। खुला सीमा भएकाले जनतालाई बाध्य भएर पारी जानुपरेको हो। तर राज्यले सुविधा दिनुको साटो गरिबमाथि गोली हान्नु, कुटपिट गर्नु र सामान खोस्नु कदापि स्वीकार्य छैन।”

त्यसैगरी ईशान खानले सरकारदेखि प्रहरी प्रशासनसम्म दमनकारी बनेको आरोप लगाउँदै मृतक विजयको कुनै गल्ती नरहेको बताए। “घरका लागि किराना सामान ल्याउनु अपराध हो? सशस्त्र प्रहरीले गरेको यो कार्य अमानवीय र अस्वीकार्य छ। हिजो सुनसरीमा भयो, भोलि हाम्रोतिर पनि हुन सक्छ। जब प्रहरी प्रशासनबाटै ज्यान सुरक्षित हुँदैन, तब नागरिकले कहाँ गएर सुरक्षाको गुहार माग्ने?” उनले प्रश्न गरे।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषी सशस्त्र प्रहरीमाथि कडा कानुनी कारबाही, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा सीमावर्ती क्षेत्रमा हुने दमन तत्काल रोक्न सरकारसँग माग गरेका छन्।

सम्बन्धित समाचारसबै