रंगेलीको संसारीमाई मन्दिरमा चोरी

0 Shares

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको संसारीमाई मन्दिरमा चोरी भएको छ । प्रहरीका अनुसार अज्ञात समूहले रातिको समयमा मन्दिरको च्यानल गेटमा लगाइएको ताल्चा फोडी भित्र प्रवेश गरेर देवीदेवताका मूर्ति, चाँदीका गरगहना तथा दानपेटिकामा रहेको नगद चोरी गरेका छन् । मन्दिरका मेनेजर पंकज झाले आइतबार बिहान घटनाको जानकारी प्रहरीलाई गराएका थिए ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान सुरु गरिएको छ । टोलीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा तथा दानपेटिकाको अवस्था निरीक्षण गर्ने र चोरीको सम्भावित समय तथा तरिका पहिचान गर्ने काम गरेको छ ।

प्रहरीका अनुसार संसारी माताका दुई थान साना मूर्ति, मुख्य मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फुटाएर भित्रको नगद चोरी भएको छ । चोरी भएको नगदको यकिन विवरण भने दानपेटिकाको हिसाबकिताब जाँचपछि मात्र खुल्ने बताइएको छ । हालसम्म चोरीमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै