सर्लाहीमा वन चौकीदारको विभत्स हत्या, टाउको अझै बेपत्ता

0 Shares

सर्लाही  । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन हेरालुको निर्मम हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

शनिबार साँझ ईश्वरपुर नगरपालिका–२, राइटरखोरका ४७ वर्षीय रामईश्वर महतोको टाउको नभएको शव गाउँ नजिकैको जंगलमा फेला परेको हो। महतो सागरनाथ वन विकास परियोजनामा मजदुरका रूपमा कार्यरत थिए।

सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार घटनाको गहिरो अनुसन्धान भइरहेको छ। “अहिलेसम्म मृतकको टाउको भेटिएको छैन,” उनले भने, “नजिकैको पोखरीमा टाउको फालिएको हुन सक्ने आशंकामा खोजी जारी छ।”

प्रहरीका अनुसार शनिबार बिहान घरबाट काममा निस्किएका महतोको साँझतिर टाउको काटिएको अवस्थामा शव भेटिएको हो। पोखरीमा जाल हानेर टाउको खोज्ने तयारी भइरहेको डीएसपी राईले जानकारी दिए। “जाल हान्न सक्ने मानिसको खोजी गर्दैछौँ,” उनले बताए।

घटनास्थल नजिकै रगतले लतपतिएको बञ्चरो समेत फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट उक्त बञ्चरो प्रयोग गरी घाँटी काटिएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाको जानकारी पाउनासाथ डीएसपी राई, इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका इन्स्पेक्टर नितेशकुमार सिंह, स्थानीय वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीसहित प्रहरी टोली र स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए।

अनुसन्धानलाई थप प्रभावकारी बनाउन धनुषाको लालगढबाट तालिमप्राप्त दुईवटा खोजी कुकुरसमेत ल्याइएको प्रहरीले जनाएको छ।

घरबाट करिब पाँच सय मिटर टाढा रहेको सागरनाथ वन विकास परियोजनाको १० नम्बर प्लट नजिकको बाटोबाट करिब एक सय मिटर पूर्वतर्फको झाडीभित्र महतोको शव फेला परेको हो। खोजीका क्रममा सुरुमा मृतकका ज्वाइँ वीरबहादुर सिंहले शव देखेका थिए।

स्थानीयका अनुसार शनिबार बिहान करिब ५ बजेतिर जंगलतर्फ रुख काटिएको आवाज सुनेपछि महतो साइकल चढेर त्यस दिशातर्फ गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। उनको मोबाइल फोनसमेत स्वीच अफ अवस्थामा छ।

टाउको नभएको अवस्थामा फेला परेको शवलाई प्रहरीले राति नै पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ। घटनाले सागरनाथ वन क्षेत्र र आसपासका बासिन्दालाई स्तब्ध बनाएको छ भने प्रहरीले दोषी पत्ता लगाउन अनुसन्धान तीव्र बनाएको ज

सम्बन्धित समाचारसबै