वीरगञ्ज – धनुषा जिल्लाको मस्जिद तोडफोड र पवित्र धर्मग्रन्थ कुरान जलाइएको घटनाप्रति आक्रोशित मुस्लिम समुदायको प्रदर्शन वीरगञ्जमा तनावपूर्ण बनेको छ। आइतबार बिहानदेखि सुरु भएको प्रदर्शनमा प्रहरीले हवाई फायर र अश्रुग्यासको प्रयोग गरेको छ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको बताइएको छ। झडपमा एक जना प्रहरी जवान सामान्य घाइते भएका छन्।
धनुकमला नगरपालिका–६, सखुवा मरानस्थित मस्जिदमा शनिबार अज्ञात समूहले तोडफोड गरी कुरान जलाएको घटना सार्वजनिक भएपछि मुस्लिम समुदाय आक्रोशित भएको थियो। वीरगञ्जका विभिन्न क्षेत्रमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेपछि जनजीवन प्रभावित भएको थियो।
छपकैया इदगाह चोकमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्दा सुरक्षा निकायले बल प्रयोग गर्न बाध्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रदर्शनमा सहभागी छपकैया मदरसाका मौलाना असगर मदनीले घटनालाई नेपालमा धार्मिक सद्भाव र सहिष्णुता विघटन गर्ने प्रयास भएको ठहर गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई चेतावनी दिएका छन्। उनले भने, “सरकारी पहल नहुँदा आन्दोलन अझ सशक्त बन्न सक्छ।”
स्थानीय प्रशासनले वीरगञ्जका संवेदनशील क्षेत्रमा सुरक्षा कडा पारिएको र स्थिति सामान्य पार्ने प्रयास भइरहेको जानकारी दिएको छ।